मेलाैली भगवती मन्दिरका निर्माणाधीन याेजना अधुरै, पालिकालाई पुन:ध्यानाकर्षण

बैतडीको मेलौली नगरपालिकालाई मेलौली धार्मिक सेवा समितिले पुनः ध्यानाकर्षण गराएको छ। यस क्षेत्रकै प्रसिद्ध मेलौली भगवती मन्दिरमा वर्षौंदेखि सञ्चालनमा रहेका निर्माणाधीन योजनाहरू समयमै सम्पन्न नभएको भन्दै समितिले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो।

समितिका अनुसार नेपाल सरकार र नगरपालिकाको संयुक्त लगानीमा मन्दिर क्षेत्रमा गेट, घेरपर्खाल लगायतका पूर्वाधार निर्माण कार्य ठेक्का टेन्डरमार्फत सञ्चालनमा रहेका भए पनि तोकिएको समयसीमा सकिँदासम्म निर्माण सम्पन्न हुन सकेको छैन। निर्माण कार्यमा ढिलाइ हुँदा मन्दिर परिसरमा वृक्षारोपण, गार्डेन, पार्क निर्माण तथा अन्य पर्यटन प्रवर्द्धनका योजनाहरू प्रभावित बनेकाे मेलाैली धार्मिक सेवा समितिका सचिव दशरथ सिह नायकले बताउनुभयो।

निर्माण कार्य सम्पन्न गराउन समितिले पटक–पटक लिखित तथा मौखिक रूपमा नगरपालिकालाई आग्रह गर्दै आएको भए पनि अपेक्षित प्रगति हुन नसकेको नायकले बताउनुभयो। उहाँका अनुसार निर्माण कार्य लम्बिँदा मन्दिर क्षेत्रको सौन्दर्यीकरण र थप पूर्वाधार विकासमा समेत बाधा पुगेको छ।

ध्यानाकर्षण पत्रमा नेपाल सरकार र नगरपालिकाको संयुक्त लगानीमा सञ्चालित योजनाको कार्यप्रगति तथा कार्यान्वयन प्रक्रिया प्रभावकारी नभएको उल्लेख गरिएको छ। नगरपालिकाले यदि वास्तविक रूपमा मेलाैली भगवती मन्दिरको विकासप्रति सकारात्मक सोच राखेको हो भने निर्माणाधीन योजनाहरू चाँडो सम्पन्न गर्न पहल गर्नुपर्ने समितिको माग छ।
समितिले आगामी आर्थिक वर्ष २०८३/०८४ भित्र निर्माणाधीन योजनाहरू सम्पन्न हुने गरी कामलाई तीव्रता दिन आग्रह गरेको छ। साथै मन्दिर परिसरमा वृक्षारोपण, गार्डेन निर्माण, पर्यटन प्रवर्द्धन तथा अन्य आवश्यक पूर्वाधार विकासका कार्य अघि बढाउन पनि माग गरिएको छ।

ध्यानाकर्षण पत्रमार्फत आर्थिक वर्ष २०८३/०८४ को बजेटमा मन्दिरका निर्माणाधीन योजनाका लागि एक करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गर्न, नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग समन्वय गरी थप बजेट माग प्रक्रिया अघि बढाउन, सम्बन्धित निकायलाई अनुगमनमा सहभागी गराउन तथा वर्षेनी सानो बजेट छुट्याउने परिपाटी अन्त्य गरी ठूला योजनामा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग राखिएको छ।

समितिले नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, कार्यपालिका सदस्य तथा पूर्वाधार शाखा प्रमुखलाई सम्बोधन गर्दै निर्माणाधीन योजनाहरू समयमै सम्पन्न गर्न गम्भीर बन्न आग्रह गरेको छ। यसअघि पनि मेलौली धार्मिक सेवा समितिले पटक–पटक यही विषयमा नगरपालिकालाई ध्यानाकर्षण गराउँदै आएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.