बैतडीको शिवनाथ गाउँपालिका–०६ बसेडीभ्वामा रहेको शिवनाथ स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ। एक औपचारिक कार्यक्रमका बीच वडा अध्यक्ष भरत राम पार्कीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष कर्णसिह साउदको प्रमुख आतिथ्यमा भवन उद्घाटन गरिएको छ।
नवनिर्मित भवन सञ्चालनमा आएपछि स्थानीय नागरिकले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको वडा सचिव राज बहादुर चन्दले जानकारी दिनुभयो। स्वास्थ्य चौकी भवन अभावका कारण विगतमा सेवा प्रवाहमा समस्या हुँदै आएको भएपनि अब आधुनिक तथा व्यवस्थित भवनबाट सेवा दिन सहज हुने बताईएकाे छ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष साउदले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै नागरिकलाई गाउँमै गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य रहेको धारणा राख्नुभयो।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय बुद्धिजीवी, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। नयाँ भवन निर्माणसँगै स्वास्थ्य सेवाको पहुँच अझ प्रभावकारी बन्ने वडाध्यक्ष पार्कीले बताउनुभयो।
नयाँ भवन निर्माण भएपछि प्रसूति सेवा, खोप सेवा, नियमित उपचार तथा अन्य आधारभूत स्वास्थ्य सेवा थप व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने स्वास्थ्यकर्मीहरूले बताएका छन्। ग्रामीण बस्तीका नागरिकका लागि स्वास्थ्य चौकी नयाँ भवन आशाको केन्द्र बनेको स्थानीयको भनाइ छ।