हिरापुर मावि बसेडीभ्वाकाे नयाँ विद्यालय व्यवस्थापन समिति गठन

बैतडीको शिवनाथ गाउँपालिका–०६ बसेडीभ्वामा रहेको हिरापुर माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।

आज आयोजित अभिभावक तथा सरोकारवालाहरूको बैठकले विद्यालयको नयाँ व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरेको विद्यालयले जनाएको छ। नवगठित समितिको अध्यक्षमा महादेव सिंह धनाडी चयन भएका छन्।

समितिका सदस्यहरूमा शंकर दयाल, शान्ति सुतार र चाँदनी पार्की चयन भएका छन्। यस्तै शिक्षक प्रतिनिधिमा अशोक बहादुर चन्द, वडा प्रतिनिधिमा वडा सदस्य कालु चन्द तथा सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक करण बहादुर चन्द रहेका छन्।

नवनिर्वाचित समितिलाई बैठकमा सहभागी अभिभावक तथा सरोकारवालाहरूले बधाई तथा शुभकामना दिएका थिए। विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास, विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि तथा विद्यालय र समुदायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समितिले जनाएको छ।

बैठकमा विद्यालयको समग्र शैक्षिक अवस्था, आगामी योजना तथा विद्यालय विकासका विविध विषयमा समेत छलफल भएको विद्यालयले जनाएको छ। नवगठित व्यवस्थापन समितिले विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.