बैतडीको मेलौली नगरपालिका–१ स्थित जनचेतना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई कपडा बैंकबैतडीले झोला र कापी वितरण गरेको छ।
विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ३५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई झोला र कापी वितरण गरिएको कपडा बैंक बैतडीका संयोजक महेशदत्त भट्टले जानकारी दिनुभयो। आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको उहाँले बताउनुभयो।
कपडा बैंक बैतडीले “हुनेले दिएर जाऔँ, नहुनेले लगेर जाऔँ” भन्ने नाराका साथ विगतदेखि नै सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ। बैंकले विभिन्न समयमा आवश्यकताअनुसार लुगा, कपडा तथा अन्य सामग्री संकलन गरी विपन्न तथा असहाय व्यक्तिहरूलाई वितरण गर्दै आएको छ।
त्यसैगरी गरिब तथा जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गर्ने कार्यलाई पनि निरन्तरता दिँदै आएको संस्थाले जनाएको छ।
कार्यक्रममा विद्यालय परिवारले कपडा बैंक बैतडीको यस अभियानले विद्यार्थीहरूमा पढाइप्रति थप उत्साह र हौसला थप्ने विश्वास व्यक्त गरेका छन्। सामाजिक सहकार्य र मानवीय सेवामार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह गरिरहेको कपडा बैंक बैतडीको अभियानलाई स्थानीयवासीले समेत प्रशंसा गरेका छन्।