शिक्षकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन

बैतडी-बैतडीको मेलौली नगरपालिका भित्र रहेका १२ वटा माध्यमिक विद्यालयका गणित, विज्ञान तथा अङ्ग्रेजी विषयका शिक्षकहरूको सहभागितामा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, गुणस्तरीय तथा विद्यार्थीमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा विषयगत शिक्षण विधि, सिकाइ सहजीकरण तथा कक्षा व्यवस्थापन सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमका सहजीकरणकर्ता तथा प्रशिक्षकका रूपमा मणिलेख माध्यमिक विद्यालयका शिक्षक रमेशदत्त बाग, कुलाँउ माध्यमिक विद्यालयका शिक्षक शिवराज कलौनी तथा मणिलेख माध्यमिक विद्यालयकै शिक्षक चक्रबहादुर चन्द रहेका थिए।

मणिलेक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनसिंह भाटको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा रहेका थिए। यस्तै शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख दशरथदत्त भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान, सीप तथा अनुभवलाई विद्यालयको शिक्षण सिकाइ प्रक्रियामा प्रयोग गरी शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। तालिमले शिक्षकहरूको पेशागत क्षमता विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.