बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिकामा आधारभूत तथा माध्यमिक विद्यालयका क्ष्त् स्रोत शिक्षकहरूका लागि सूचना प्रविधि तथा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली(IEMIS) सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरिएको छ।
गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षतामा सुरु भएको तालिममा गाउँपालिका भित्र रहेका सबै विद्यालयबाट १र१ जना गरी ३३ जना शिक्षकहरूको सहभागिता रहेको छ। तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्देश्य विद्यालयमा सूचना प्रविधिको प्रभावकारी प्रयोग बढाउनुका साथै IEMIS प्रणालीमा तथ्याङ्क व्यवस्थापन, अभिलेखीकरण र प्रतिवेदन प्रणालीलाई थप व्यवस्थित बनाउनु रहेको शिक्षा समिति संयोजक महामल घटालले जानकारी दिनुभयो।
तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष चन्दले वर्तमान समयमा शिक्षामा सूचना प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको बताउनुभयो। उहाँले विद्यालय तहमा डिजिटल सिकाइ वातावरण निर्माण गर्न तथा शैक्षिक प्रशासनलाई प्रविधिमैत्री बनाउन यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
तालिममा सहभागी शिक्षकहरूलाई कम्प्युटर तथा डिजिटल उपकरणको प्रयोग, IEMISप्रणालीमा विद्यार्थी, शिक्षक र विद्यालय सम्बन्धी विवरण प्रविष्टि गर्ने प्रक्रिया, तथ्याङ्क अद्यावधिक गर्ने तरिका, प्रतिवेदन तयार गर्ने विधि लगायतका विषयमा सहजीकरण गरिने जनाइएको छ।
शिक्षा शाखाका अनुसार तालिमपछि सहभागी शिक्षकहरूले आ–आफ्नो विद्यालयमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउनुका साथै IEMIS प्रणालीलाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले शिक्षाको गुणस्तर अभिवृद्धि तथा विद्यालय व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।