बैतडी -निड्स नेपाल कञ्चनपुर र डब्लुडब्लुएफ (WWF) नेपालको संयुक्त साझेदारीमा वन्यजन्तु र मानवबीचको द्वन्द्व रूपान्तरण विषयक एकदिने अन्तरक्रिया कार्यक्रम डडेल्धुराको परशुराम नगरपालिकामा सम्पन्न भएको छ।
निड्स नेपाल कञ्चनपुरका अध्यक्ष दुर्गा खरेलको अध्यक्षता तथा परशुराम नगरपालिकाकी उपप्रमुख विमला कुमारी महताको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणका उपाय, सरोकारवाला निकायको भूमिका तथा दीर्घकालीन समाधानका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा परशुराम नगरपालिकाका १२ वटै वडाका वडाध्यक्ष, आलिताल गाउँपालिकाका ८ वटै वडाका वडाध्यक्ष, कृषि, पशु तथा स्वास्थ्य शाखाका प्रमुख, परशुरामधाम सब–डिभिजन वन कार्यालय र आलिताल सब–डिभिजन वन कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, अध्यक्ष, सचिव तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
निड्स नेपाल कञ्चनपुरका निमित्त कार्यकारी निर्देशक प्रकाश मडैले वन्यजन्तु र मानवबीच बढ्दो द्वन्द्वलाई कसरी न्यूनीकरण गर्ने, यसमा स्थानीय सरकार, वन कार्यालय, समुदाय तथा अन्य सरोकारवाला निकायको भूमिका कस्तो हुनुपर्ने भन्ने विषयमा व्यापक छलफल भएको जानकारी दिए।
डब्लुडब्लुएफ (WWF) नेपालकी प्रतिनिधि आरती खड्काले पछिल्लो समय वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्नुका प्रमुख कारणबारे प्रकाश पार्दै शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा विशेषगरी हात्ती र चितुवाका कारण स्थानीय नागरिक जोखिममा पर्ने गरेको बताइन्। उनले यस्तो समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले समन्वयात्मक र दीर्घकालीन कार्ययोजना ल्याउन आवश्यक रहेको धारणा राखिन्।
परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र साउदले पछिल्लो समय वन्यजन्तु गाउँ, सहर तथा मानव बस्तीमा प्रवेश गर्ने क्रम बढिरहेको उल्लेख गर्दै यसको कारणबारे गम्भीर अध्ययन आवश्यक रहेको बताए। वन व्यवस्थापन र संरक्षणमा वन उपभोक्ता समूह तथा सरकार दुवै जिम्मेवार र जवाफदेही बन्नुपर्ने उनको भनाइ थियो।
उनका अनुसार जलवायु परिवर्तनका कारण वन क्षेत्रमा समयमा पर्याप्त घाँस तथा वन्यजन्तुको आहाराको अभाव हुँदा वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्न बाध्य हुने गरेका छन्। यसले मानव–वन्यजन्तु द्वन्द्व झनै बढाएको उनले बताए।
त्यसैगरी, चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समिति जोगबुडाका अध्यक्ष कैलाशकुमार पाण्डेयले चुरे क्षेत्रमा वन्यजन्तुको प्राकृतिक बासस्थान असुरक्षित बन्दै जाँदा वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्ने क्रम बढेको बताए। उनले वन्यजन्तुको बासस्थान संरक्षण, वन व्यवस्थापन र समुदायको सक्रिय सहभागितामार्फत मात्रै दीर्घकालीन रूपमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरे।