बैतडी– पत्रकार ऋतु ओझाले आफ्ना स्वर्गीय बुवा शिवदत्त कलौनीको प्रथम वार्षिक पुण्यतिथीको अवसरमा मानव सेवा आश्रममा भोजन दान गरेकी छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–५, तारानगरस्थित मानव सेवा आश्रममा पुगेर आइतबार उनले आश्रममा आश्रित रहेका व्यक्तिहरूलाई खीर, तरकारी तथा भोजन वितरण गरेकी हुन्। वार्षिक पुण्यतिथीको अवसरमा दिवंगत बुवाको सम्झनामा गरिएको यस सेवामूलक कार्यले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई झल्काएको छ।
पत्रकार ओझाका बुवा शिवदत्त कलौनीको २०८२ साल असार १२ गते निधन भएको थियो। पारिवारिक तथा व्यक्तिगत कारणले यस वर्ष वार्षिक पुण्यतिथीमा आफ्नो गृहजिल्ला बैतडी पुग्न नसकेपछि मानव सेवा आश्रममै पुगेर भोजन दान गरेको उनले बताइन्।
उनका अनुसार दिवंगत बुवाको स्मृतिलाई केवल औपचारिक रूपमा नभई समाजका असहाय, अभिभावकविहीन तथा आश्रयको आवश्यकता भएका व्यक्तिहरूसँग सेवा र सद्भाव बाँडेर सम्झनु नै सबैभन्दा अर्थपूर्ण हुने विश्वासका साथ यो कार्य गरिएको हो।
मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूले पनि भोजन दानप्रति आभार व्यक्त गरेका छन्। आश्रमका प्रतिनिधिहरूले यस्ता मानवीय तथा सेवामूलक कार्यले आश्रम सञ्चालनमा सहयोग पुग्नुका साथै समाजमा सहयोग र सहकार्यको भावना अझ मजबुत बन्ने बताएका छन्।
पछिल्लो समय वार्षिक पुण्यतिथी, जन्मदिन तथा अन्य विशेष अवसरहरूमा भोजभतेरभन्दा सामाजिक सेवाका गतिविधि गर्ने संस्कार विस्तार हुँदै गएको छ। यसले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व तथा परोपकारी संस्कृतिलाई थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।