विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

बैतडी-एक्सनएड र बहुउद्देश्यीय विकास समाज MPDS डडेल्धुराको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार परियोजना LRP48 अन्तर्गत डडेल्धुराको परशुराम नगरपालिकाका विपन्न, अनाथ, टुहुरा तथा गरिब घरपरिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

परशुराम नगरपालिका–१, ४, ५, ६, ९ र १२ का सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका एक सय जना विपन्न, अनाथ, टुहुरा तथा आर्थिक रूपमा कमजोर बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो।

सम्बन्धित वडा कार्यालय र विद्यालयको सिफारिसका आधारमा छनोट गरिएका विद्यार्थीलाई सामग्री वितरण गरिएको बहुउद्देश्यीय विकास समाज डडेल्धुराका LRP48 परियोजना अधिकृत धनबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार स्थानीय अधिकार परियोजनाले शिक्षा, स्वास्थ्य, स्थानीय अधिकार र रोजगारीका क्षेत्रमा काम गर्दै आएको छ। आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको उनले बताए।

परियोजनाले परशुराम नगरपालिका–१, ५, ६ र १२ लाई लक्षित गरी स्थानीय अधिकार, बालअधिकार, जनचेतना अभिवृद्धि तथा व्यवहार परिवर्तनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यसअघि पनि विद्यालयमा शुक्रबारे कार्यक्रम, विविध अतिरिक्त क्रियाकलाप, पुरस्कार वितरण तथा सडक नाटकमार्फत नागरिक सचेतना अभिवृद्धिमा सहयोग पुर्‍याउँदै आएको परियोजनाले जनाएको छ।

बहुउद्देश्यीय विकास समाज MPDS डडेल्धुराका कार्यकारी निर्देशक प्रेमबहादुर महरका अनुसार संस्थाले करिब तीन दशकदेखि सुदूरपश्चिम तथा मध्यपश्चिमका विभिन्न जिल्ला र स्थानीय तहमा विभिन्न गैरसरकारी संस्थासँगको साझेदारीमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, विपद् जोखिम न्यूनीकरण, समाज रूपान्तरण, स्थानीय अधिकार तथा नागरिक स्वरोजगार प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.