असार महिनाका उत्कृष्ट प्रहरी बने खोड्पे चौकीका इन्चार्ज कृष्णराज भट्ट

बैतडी-जिल्ला प्रहरी कार्यालय बैतडीले मासिक उत्कृष्ट प्रहरी कर्मचारी छनोट तथा सम्मान कार्यक्रमको सुरुवात गरेको छ । उक्त कार्यक्रमअन्तर्गत असार महिनाका उत्कृष्ट प्रहरी कर्मचारीका रूपमा प्रहरी चौकी खोड्पेका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्णराज भट्ट सम्मानित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार भट्टले कर्तव्यनिष्ठ र सक्रिय रूपमा जिम्मेवारी निर्वाह गर्दै प्रहरी संगठनको छवि उकास्न महत्वपूर्ण योगदान पुर्‍याएका कारण उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

गत असार १९ गते धनगढीबाट बैतडीतर्फ आउँदै गरेको यात्रुवाहक बस पाटन नगरपालिका–९ गैराखान क्षेत्रमा दुर्घटनामा परेको सूचना प्राप्त हुनासाथ भट्टको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो । टोलीले घाइतेहरूको शीघ्र उद्धार गरी सम्बन्धित निकायसँग समन्वय गरेर उपचारका लागि अस्पताल पुर्‍याएको थियो । समयमै गरिएको उद्धार तथा व्यवस्थापनले थप मानवीय क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले उत्कृष्ट कार्यसम्पादन, लगनशीलता तथा सेवाप्रतिको समर्पणको कदरस्वरूप भट्टलाई असार महिनाको उत्कृष्ट प्रहरी कर्मचारीका रूपमा सम्मान गरिएको जानकारी दिए ।

फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूको कार्यसम्पादनलाई प्रोत्साहन गर्दै मनोबल उच्च राख्न मासिक उत्कृष्ट प्रहरी छनोट तथा सम्मान कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.