बैतडीबाट बर्दिया सरुवा भए डीएसपी जंगबहादुर कुँवर

बैतडी-सशस्त्र प्रहरी बल नेपाल नं.५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) जंगबहादुर कुँवर सरुवा भई बर्दिया गएका छन्।बैतडीमा रहँदा उनले शान्ति सुरक्षा, सीमा व्यवस्थापन, विपद् उद्धार, निर्वाचन सुरक्षा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।

उनको नेतृत्वमा जिल्लामा १ हजार ८५ पैदल गस्ती, १ हजार ९५ सीमा एकल गस्ती, ७३० मोबाइल गस्ती तथा २५ संयुक्त गस्ती सञ्चालन गरी सीमा सुरक्षा र शान्ति सुव्यवस्था प्रभावकारी बनाइएको थियो। सीमा क्षेत्रमा हुने तस्करी, चोरी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका साथै रु. २१ लाख ३२ हजार ८१० बराबरका अवैध सामान बरामद गरिएको थियो। मानव तस्करी रोकथाम, लागुऔषध नियन्त्रण तथा अवैध हतियार बरामदमा समेत उल्लेखनीय सफलता हासिल गरिएको थियो।

डीएसपी कुँवरको कार्यकालमा प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको थियो। जेन्जी आन्दोलनका क्रममा कुनै मानवीय तथा भौतिक क्षति हुन नदिई सुरक्षा व्यवस्थापन गरिएको थियो ।उक्त कार्यका लागि उनले प्रमुख जिल्ला अधिकारी तथा मुख्य निर्वाचन अधिकृतबाट प्रशंसापत्र समेत प्राप्त गरेका थिए।

उनले विपद् व्यवस्थापन तथा उद्धार क्षेत्रमा १२६ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै ३४ जना विपद् स्वयंसेवकलाई तालिम प्रदान गरेका थिए। आगलागी, बाढीपहिरो, सडक दुर्घटनालगायतका घटनामा प्रभावकारी उद्धार कार्य सञ्चालन गरिएको थियो। साथै भारतीय समकक्षीसँग १६ पटक समन्वय बैठक गरी सीमा सुरक्षालाई थप मजबुत बनाइएको थियो।

सुरक्षा व्यवस्थापनसँगै उनले सामाजिक क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएका छन्।जिल्ला अस्पताल बैतडीमा मिनी ब्लड बैंक स्थापना, स्वास्थ्य शिविर सञ्चालन, दुर्गम क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा विस्तार, असहाय परिवारलाई खाद्यान्न वितरण, सिलाइकटाइ तालिम, रक्तदान, सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएका थिए। सीमा क्षेत्रका विपन्न परिवार, एकल महिला तथा विद्यार्थीहरूलाई कम्बल, न्यानो कपडा, शैक्षिक सामग्री तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइएको थियो।

उनकै नेतृत्वमा बिनायकघाटमा प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा चौकी स्थापनाका लागि १० रोपनी जग्गा प्राप्त गरिएको थियो। साथै नं. ५१ गुल्म हेडक्वाटर बैतडी सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट गुल्म घोषित भई एपीएफ आईजी कमेन्डेसन अवार्ड प्राप्त गर्न सफल भएको थियो।

सरुवा भएर बर्दिया जानुअघि डीएसपी कुँवरले बैतडी आफ्नो सेवाकालको अविस्मरणीय जिल्ला बनेको बताएका छन्। “बैतडीमा बस्दा मैले धेरै माया, सद्भाव र सहयोग पाएँ। यहाँका नागरिक, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाको साथले नै सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्न सकेँ। बैतडी मेरो लागि सधैं विशेष रहनेछ,” उनले भने।

बैतडीमा सुरक्षा व्यवस्थापनसँगै सामाजिक क्षेत्रमा समेत सकारात्मक छाप छोडेका डीएसपी जंगबहादुर कुँवर हाल बर्दियामा पदस्थापन भएका छन्।

Leave A Reply

Your email address will not be published.