बैतडी-बैतडीको पाटन नगरपालिका-९ मा किसानहरूलाई विषादीको सुरक्षित प्रयोग सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ। केही दिनअघि कैलालीको अत्तरियास्थित विषादी अवशेष परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पाटन–९ बाट परीक्षणका लागि पठाइएको रायोको सागमा विषादीको अवशेष भेटिएको गुनासो आएपछि किसानहरूलाई सचेत बनाउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको हो।
पाटन नगरपालिका–९ का वडा अध्यक्ष कालु सिंह भाटका अनुसार सुरक्षित कृषि उत्पादनलाई प्रोत्साहन गर्न तथा विषादीको सही प्रयोगबारे किसानलाई जानकारी गराउन प्रशिक्षण आयोजना गरिएको हो।
प्रशिक्षणमा सकेसम्म जैविक विषादीको प्रयोग गर्न, रासायनिक विषादी अत्यावश्यक अवस्थामा मात्र निर्धारित मात्रा र विधिअनुसार प्रयोग गर्न तथा रासायनिक विषादीलाई अन्तिम विकल्पका रूपमा मात्रै अपनाउनुपर्ने विषयमा जानकारी गराइएको पाटन नगरपालिकाका कृषि शाखाका प्राविधिक महेश प्रसाद अवस्थीले बताए।
यस्तै, विषादीको सही मात्रा, प्रयोग गर्ने उपयुक्त समय, प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षाका उपाय तथा बाली टिप्नुअघि अनिवार्य रूपमा पालना गर्नुपर्ने ‘वेटिङ पिरियड’ सम्बन्धी जानकारी पनि किसानलाई दिइएको वडा अध्यक्ष भाटले जानकारी दिए।
नगरपालिकाले सुरक्षित कृषि उत्पादन प्रवर्द्धन गर्दै उपभोक्तालाई स्वस्थ र गुणस्तरीय तरकारी उपलब्ध गराउने उद्देश्यले यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।
वडा कार्यालयको आयोजनामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा ८० भन्दा बढी किसानको सहभागिता रहेको थियो। कार्यक्रममा पाटन नगरपालिकाका कृषि शाखाका प्राविधिक महेशप्रसाद अवस्थी र खडक धामीले सहजीकरण तथा प्रशिक्षण दिएका थिए।