बैतडीको सिद्धेश्वर माविमा अंग्रेजी बोलीचाली अभ्यास कक्षा सञ्चालन गरिने

बैतडी-बैतडीको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय, हुक्केडाँडाले विद्यार्थीको अंग्रेजी भाषा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले अंग्रेजी बोलीचाली अभ्यास कक्षा सञ्चालन गर्ने भएको छ।

विद्यालयमा आज आयोजित समीक्षा बैठकले आगामी भदौ १ गतेदेखि दैनिक एक घण्टा अतिरिक्त अंग्रेजी बोलीचाली अभ्यास कक्षा सञ्चालन गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिनुभयो।

पाटन नगरपालिका शिक्षा शाखाका प्रतिनिधि बिर्खराज भट्टको उपस्थितिमा सम्पन्न बैठकमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अभिभावकको सहभागिता रहेको थियो।

बैठकले प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै त्यसको समीक्षा तथा अन्तरक्रिया समेत गरेको जनाएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकसँग नियमित अन्तरक्रिया गर्ने अभ्यासलाई निरन्तरता दिइएको विद्यालयले जनाएको छ।

प्रधानाध्यापक प्रकाशसिंह महराले अंग्रेजी बोलीचाली अभ्यास कक्षा सञ्चालन भएपछि विद्यार्थीको अंग्रेजी भाषा सिकाइमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो।

Leave A Reply

Your email address will not be published.