मतदाता नामावली अध्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय बैतडीको आग्रह

बैतडी-जिल्ला निर्वाचन कार्यालय बैतडीले मतदाता नामावलीमा रहेका विवरण अध्यावधिक गर्न सम्बन्धित मतदातालाई आग्रह गरेको छ।
कार्यालयले सूचना जारी गर्दै मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्ममिति, लिङ्ग, नागरिकता विवरण, मतदानस्थल, दोहोरो नाम हटाउने तथा बसाइँसराइका कारण मतदाता नामावली सार्नुपर्ने भएमा आवश्यक प्रमाण कागजात सहित आवेदन दिन सकिने जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकरि दिए ।

कार्यालयका अनुसार मतदाता नामावली अध्यावधिकका लागि निर्वाचन आयोगको अनलाइन नाम ठेगाना जन्म मिति र मतदाता नामावली अध्यावधिक प्रणालीमार्फत आवश्यक विवरण भरी सम्बन्धित प्रमाण कागजात संलग्न गरी आवेदन दिन सकिनेछ।

त्यस्तै, बसाइँसराइ वा विवाहका कारण मतदाता नामावली सार्नुपर्ने मतदाताले आफ्नो स्थायी ठेगाना रहेको सम्बन्धित वडा कार्यालयमा बसाइँसराइ प्रमाणपत्र वा विवाह दर्ता प्रमाणपत्रसहित उपस्थित भई निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

मतदाता नामावली अध्यावधिकका लागि नेपाली नागरिकताको प्रमाणपत्र, बसाइँसराइ प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र वा सम्बन्धित अन्य प्रमाण आवश्यक पर्ने कार्यालयले जनाएको छ।

मतदाता नामावलीमा रहेका विवरणमा कुनै त्रुटि भए सच्याउन तथा आवश्यक विवरण अध्यावधिक गर्न सम्बन्धित मतदाताले समयमै आवेदन दिनुपर्ने दयालले बताए।

जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले सबै मतदातालाई आफ्नो मतदाता विवरण समयमै अध्यावधिक गरी निर्वाचनसम्बन्धी सेवा सहज रूपमा प्राप्त गर्न आग्रह गरिएको बताए। उनले मतदाता नामावलीमा आफ्नो विवरण सही भए–नभएको यकिन गरी आवश्यक परे तोकिएको प्रक्रिया मार्फत अध्यावधिक गर्नसमेत अनुरोध गरे।

जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिकको कामलाई प्रभावकारी बनाउन सम्बन्धित सबै मतदातालाई आवश्यक कागजातसहित समयमै आवेदन दिन आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.