बैतडी-बैतडीको मेलौली नगरपालिका–१ स्थित मणिलेक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा। भगीरथसिंह नेगीलाई सम्मान गरिएको छ। अंग्रेजी साहित्य विषयमा विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेको अवसरमा क्याम्पसको प्राध्यापक संघ र कर्मचारी संघले उहाँलाई सम्मान गरेका हुन्।
मेलौली नगरपालिका–१ घर भएका डा. नेगीले भारतको राजस्थानस्थित डा.केएन मोदी विश्वविद्यालय, निवाईबाट अंग्रेजी साहित्यमा विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्नुभएको हो। उहाँको यो शैक्षिक उपलब्धिलाई क्याम्पस परिवारले गौरव र प्रेरणाको विषयका रूपमा लिएको छ।
क्याम्पसमा आयोजित विशेष कार्यक्रममा डा। नेगीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले डा। नेगीको शैक्षिक उपलब्धिले मणिलेक बहुमुखी क्याम्पसको प्रतिष्ठासँगै स्थानीय शैक्षिक क्षेत्रमा समेत सकारात्मक सन्देश प्रवाह गरेको बताएका थिए।
लामो समयदेखि प्राध्यापन तथा शैक्षिक क्षेत्रमा क्रियाशील डा.नेगीले हासिल गरेको विद्यावारिधिको उपाधिले स्थानीय स्तरको उच्च शिक्षाको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। उहाँको अनुसन्धान, अध्ययन र शैक्षिक अनुभवबाट विद्यार्थी तथा नयाँ पुस्ताका प्राध्यापकहरूलाई समेत प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
सम्मान कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा.नेगीले क्याम्पस परिवारबाट प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताउनुभयो।आफूले हासिल गरेको ज्ञान, सीप र अनुसन्धानको अनुभवलाई स्थानीय स्तरको शिक्षा सुधार तथा विद्यार्थीको शैक्षिक विकासमा उपयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
डा। नेगीले विद्यावारिधिको उपाधि व्यक्तिगत उपलब्धि मात्र नभई आफूले लामो समयदेखि काम गर्दै आएको शैक्षिक क्षेत्रसँग जोडिएको उपलब्धि भएको बताउनुभयो। आगामी दिनमा पनि शिक्षा र अनुसन्धानका क्षेत्रमा निरन्तर काम गर्दै स्थानीय विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न आफू सक्रिय रहने उहाँको भनाइ छ।
क्याम्पस परिवारले डा.नेगीको शैक्षिक उपलब्धिले अन्य शिक्षक तथा विद्यार्थीलाई समेत उच्च शिक्षा र अनुसन्धानतर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।