बैतडी-जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता भएका तथा अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने योजना अघि सारेको छ।
बैतडीमा आएकी नयाँ प्रमुख जिल्ला अधिकारी मीना अर्यालले शुक्रबार सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा जिल्लाका सबै स्थानीय तहबाट अपांगता भएका तथा अशक्त नागरिकको तथ्यांक संकलन गरी नागरिकता नपाएका व्यक्तिलाई घरमै पुगेर नागरिकता दिने योजना रहेको बताइन्।
भौगोलिक अवस्था र सेवा प्रवाहको सहजतालाई ध्यानमा राख्दै स्थानीय तह तथा वडा कार्यालयसँग समन्वय गरेर जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने नागरिकलाई घरमै नागरिकता प्रदान गर्ने सोच बनाएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन्।
परिचयात्मक कार्यक्रममा उनले सुशासन, नागरिकमैत्री सेवा र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। शान्ति, सुव्यवस्था र सुशासन कायम गर्नु प्रशासनको प्रमुख दायित्व भएकाले त्यसतर्फ आफू प्रतिबद्ध भएर काम गर्ने उनको भनाइ थियो।
कार्यक्रममा सञ्चारकर्मीहरुले जिल्लाका विभिन्न समस्याबारे प्रमुख जिल्ला अधिकारी अर्यालको ध्यानाकर्षण गराएका थिए। सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि, सार्वजनिक निर्माणका काममा हुने ढिलासुस्ती, सडक दुर्घटना, लागूऔषध दुर्व्यसन तथा विपद् व्यवस्थापनलगायतका विषयमा सञ्चारकर्मीहरुले प्रशासनको ध्यानाकर्षण गराएका हुन्।
प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको अवस्थाबारे जानकारी लिँदै सम्बन्धित निकायसँगको समन्वयमा नागरिकका समस्या समाधान गर्न पहल गर्ने बताइन्।