काठमाणडौ – जाजरकोटको भेरी नगरपालिका–२ मा पहिरोमा परी एक जनाको ज्यान गएको छ ।
पहिरोमा पुरिएका तीन जनाको अवस्था थाहा हुन सकेको छैन । अरू ७ जना घाइते भएका छन् ।पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
पुरिएका ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र अर्का एक जनाको खोजी भैरहेको छ । घाइते भएका ७ जनामध्ये ५ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको र अरू २ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । लगातारको वर्षासँगै बाढी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा गरेको क्षतिको थप विवरण आउन बाँकी छ ।
बाढीपहिरोका कारण जाजरकोटको भेरी नगरपालिकाका रिसाङ, स्याँला, माथिल्लो थाप्ले र ठाँटी खण्ड, पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्ती उच्च जोखिममा परेका छन् । सडक ठाउँ–ठाउँमा भत्किएर अवरुद्ध भएकाले उद्धार कार्यसमेत प्रभावित भएको छ ।
जिल्ला प्रशासन कार्यालय, पालिका तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, पहिरोको जोखिम भएका घर तथा ठाउँबाट सुरक्षित ठाउँमा जान र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरेका छन् ।