बैतडी-बैतडीमा मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेका छन्। जिल्ला अस्पताल बैतडीमा दैनिक उपचारका लागि आउने करिब २ सय बिरामीमध्ये १ सय २० जना जति भाइरल ज्वरोका हुने गरेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पनि दैनिक आउने बिरामीमध्ये करिब ७० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको केन्द्र प्रमुख मुकेशकान्त दयालले बताए। गाउँघरका स्वास्थ्यचौकीमा समेत भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्यकर्मीहरुले बताएका छन्।
भाइरल ज्वरोसँगै टाइफाइड, डेङ्गी र स्क्रबटाइफसका बिरामीसमेत फाटफुट रुपमा आउने गरेका छन्। ज्वरो आउने, चिसो महसुस हुने, खोकी लाग्ने, घाँटी दुख्ने, हाछ्युँ आउने, नाकबाट पानी बग्ने तथा टाउको, शरीर र हाडजोर्नी दुख्ने जस्ता लक्षण देखिने स्वास्थ्यकर्मीहरुले बताएका छन्।
स्वास्थ्यकर्मीहरुले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन तथा स्वास्थ्यमा समस्या देखिएमा स्वास्थ्य संस्थामा उपचार गराउन आग्रह गरेका छन्।