सुङ्गडिघाट र काकडिघाट सडक पुलको ठेक्का प्रक्रिया अघि बढाइने

बैतडी-बैतडीको मेलौली नगरपालिका–८ र डडेल्धुराको अजयमेरु गाउँपालिका–६ जोड्ने सुङ्गडिघाट सडक पुल तथा अजयमेरु गाउँपालिका–६ र भागेश्वर गाउँपालिका–३ जोड्ने काकडिघाट सडक पुलको निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइने भएको छ ।

दुवै पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार ठेक्का आह्वान गर्नुअघि फिल्ड भेरिफिकेसनको काम अघि बढाइएको अजयमेरु गाउँपालिका–६ का वडाध्यक्ष हरि सिंह भण्डारीले जानकारी दिए।

उहाँका अनुसार स्थानीय पूर्वाधार विकास विभाग, पुल्चोक र स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको समन्वयमा वर्षायाममै प्राथमिकताका साथ आवश्यक प्रक्रिया अघि बढाउन सहयोग भएको छ ।

वडाध्यक्ष भण्डारीले पुल निर्माणको प्रक्रिया अघि बढाउन सहयोग गर्ने सम्बन्धित निकाय तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै छिट्टै ठेक्का प्रक्रिया अघि बढाएर निर्माण कार्य कार्यान्वयनमा लैजाने बताए ।

यस्तै,मेलौली नगरपालिका–८ का वडाध्यक्ष तपेन्द्र सिंह विष्टले पनि सुङ्गडिघाट सडक पुलको (डिपिआर) अनुसार ठेक्का आह्वान गर्नुअघि फिल्ड भेरिफिकेसनको काम अघि बढाउन सहयोग गर्ने स्थानीय पूर्वाधार विकास विभाग पुल्चोक र स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयप्रति आभार व्यक्त गर्नुभएको छ ।

वडाध्यक्ष विष्टले दुवै पुल निर्माण भएपछि बैतडीको तल्लो स्वराड क्षेत्रबाट डडेल्धुरा हुँदै तराई जोड्ने छोटो मार्गका रूपमा विकास हुने बताउनुभयो । उहाँले पुल निर्माणले यस क्षेत्रका नागरिकको आवागमन सहज हुनुका साथै आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सुङ्गडिघाट र काकडिघाटमा पुल निर्माण भएपछि बैतडीको तल्लो स्वराड क्षेत्रलाई डडेल्धुरासँग जोड्ने सडक सञ्जाल थप सहज हुने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.