बैतडी–जिल्ला प्रहरी कार्यालय बैतडीले प्रहरी हवल्दार भोजराज भट्टलाई साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
साउन महिनामा उच्च कर्तव्यनिष्ठा, सक्रियता, लगनशीलता तथा व्यावसायिक दक्षता प्रदर्शन गरेको भन्दै भट्टलाई उत्कृष्ट प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
भट्टले साउन महिनामा २० जना फरार प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उहाँको सक्रियतामा फरार प्रतिवादीको खोजतलास तथा पक्राउ कार्य प्रभावकारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपककुमार रायले बताए।
कानुनको प्रभावकारी कार्यान्वयन तथा अपराध नियन्त्रणमा पुर्याएको योगदानको कदर गर्दै भट्टलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको रायले बताए।
जिल्ला प्रहरी कार्यालय बैतडीले प्रहरी कर्मचारीको कार्यसम्पादन, कर्तव्यनिष्ठा, सक्रियता र व्यावसायिक दक्षताका आधारमा प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ।