रातापानी पहिरोः सिडिओसहितको टोलीद्वारा निरीक्षण, सात परिवारलाई स्थानान्तरण गर्नुपर्ने

बैतडी-बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेस्थित रातापानी टोलमा पहिरो प्रभावित क्षेत्रको प्रमुख जिल्ला अधिकारी सहितको टोलीले स्थलगत निरीक्षण गरेको छ।

प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा शुक्रबार पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरिएको हो। निरीक्षणका क्रममा पहिरोका कारण सात परिवार जोखिममा रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन्।

पहिरोका कारण स्थानीयलाई वारीपारी आवतजावत गर्नसमेत समस्या भएपछि स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ।पहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न त्रिपाल लगायत आवश्यक सामग्रीको व्यवस्थापनका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको अर्यालले बताइन्।

पहिरो प्रभावित क्षेत्रमा खानेपानीको समेत समस्या रहेको छ।खानेपानी सेवा सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिइन्।पहिरोका कारण अवरुद्ध भएको विद्युत सेवा भने सुचारु भइसकेको छ।

स्थानीयका अनुसार रातापानी टोलमा २०७४ सालदेखि पहिरो खस्दै आएको छ।हरेक वर्षायाममा पहिरोले समस्या निम्त्याउने गरेको स्थानीय रामसिंह बोहराले बताए। पहिरोका कारण स्थानीयका घर तथा खेत जोखिममा परेकाले दीर्घकालीन रूपमा पहिरो नियन्त्रण तथा रोकथामका उपाय खोजिनुपर्ने स्थानीयको माग छ।

जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न आवश्यक परे अस्थायी बसोबासको व्यवस्था गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन्।

पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा सुरक्षा निकायका प्रमुखसहित खानेपानी, वन, विद्युतलगायत सरोकारवाला कार्यालयका प्रतिनिधि सहभागी थिए।

Leave A Reply

Your email address will not be published.