डडेल्धुरा-डडेल्धुराको परशुराम नगरपालिका–७ स्थित सादनी स्वास्थ्यचौकी नगर अस्पतालमा स्तरोन्नति गरिएको छ। परशुराम नगरपालिका–१२ स्थित जोगबुडा अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि सादनी स्वास्थ्यचौकीलाई नगर अस्पतालका रूपमा सञ्चालनमा ल्याइएको हो।
परशुराम नगरपालिका मातहत रहने सादनी नगर अस्पतालको प्रमुखको जिम्मेवारी डा. जितेन्द्र चौधरीलाई दिइएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको कार्यविधिअनुसार सादनी स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको स्वास्थ्य शाखा प्रमुख हिक्मतबहादुर धामीले जानकारी दिए।
अस्पताल व्यवस्थापन समितिको कार्यविधिअनुसार नगर प्रमुख अध्यक्ष रहने व्यवस्था भएअनुसार **नगर प्रमुख भरत वडायर (जोशी) को संयोजकत्वमा सादनी नगर अस्पताल व्यवस्थापन समितिको पहिलो बैठक समेत बसेको छ।
पहिलो बैठकमा नगर प्रमुख जोशीले स्थानीय नागरिक तथा सेवाग्राहीसँग अस्पतालबाट प्रदान गरिने सेवाका विषयमा जानकारी गराउँदै सादनी नगर अस्पतालले जोगबुडा अस्पतालले प्रदान गर्दै आएको सेवासरह सेवा उपलब्ध गराउने बताए।
प्रदेश सरकारले जोगबुडा प्रादेशिक अस्पतालको व्यवस्थापन तथा निगरानी गर्ने भए पनि नगरपालिकाले समेत आफ्नो क्षेत्रबाट आवश्यक समन्वय र रेखदेख गर्दै दुवै स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउन पहल गर्ने नगर प्रमुख जोशीले बताए।
सादनी नगर अस्पतालबाट सामान्य उपचार सेवाका साथै एक्स–रे, भिडियो एक्स–रे, फार्मेसी, बेसिक ल्याब, सर्पदंश उपचार तथा आवश्यक परामर्श सेवा क्रमशः सञ्चालनमा ल्याइने जनाइएको छ।
विशेषगरी परशुराम नगरपालिका–६, ७ र ८ का नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको नगरपालिकाले जनाएको छ।
सादनी नगर अस्पतालका इन्चार्ज डा. जितेन्द्र चौधरीले अस्पतालबाट स्थानीय नागरिकलाई सक्दो प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिने बताए। नगर सरकारले उपलब्ध गराउने उपकरण, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीको उचित व्यवस्थापन गर्दै सेवामा कुनै कमी हुन नदिने उनको भनाइ छ।
सादनी स्वास्थ्यचौकी नगर अस्पतालमा स्तरोन्नति भएपछि यस क्षेत्रका नागरिकले सामान्य उपचारदेखि प्रयोगशाला परीक्षण, एक्स–रे तथा सर्पदंश उपचारलगायतका सेवा स्थानीय तहमै पाउने अपेक्षा गरिएको छ। यसबाट विशेषगरी परशुराम नगरपालिका–६, ७ र ८ का नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।