बैतडी-बैतडीको पाटन नगरपालिकाका नगर स्वयंसेवक शिक्षकहरूले विभिन्न नौ बुँदे माग राख्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।
पारिश्रमिक वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा पोशाक भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै उनीहरूले आइतबार नगर प्रमुख गौरीसिंह रावलसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
नगर स्वयंसेवक शिक्षक समितिका अध्यक्ष राजेन्द्र बिष्टले विद्यालयको पठनपाठनमा नगर स्वयंसेवक शिक्षकहरूको भूमिका महत्वपूर्ण रहे पनि पारिश्रमिकका विषयमा विभेद गरिएको गुनासो गर्नुभयो ।
नगर स्वयंसेवक शिक्षकहरूको अभिलेखीकरण गरी केन्द्रस्तरमा तथ्याङ्क पठाउनुपर्ने माग शिक्षक हरिप्रसाद भट्टले राख्नुभयो । उहाँले ‘नगर शिक्षक’ पदलाई ‘नगर अनुदान शिक्षक’ नामकरण गर्नुपर्ने बताउनुभयो ।
नगर शिक्षक गोविन्दप्रसाद पन्तले आफूहरूले कुनै राजनीतिक पूर्वाग्रह नराखी शिक्षकहरूको पेशागत हकहितका लागि ज्ञापनपत्र बुझाएको बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख रावलले चालु आर्थिक वर्षमा नगर स्वयंसेवक शिक्षकहरूको पारिश्रमिकमा रु २ हजार ५ सय वृद्धि गरिएको जानकारी दिनुभयो । सम्भव भएसम्म कार्यपालिका र नगरसभाबाट सहमति जुटाएर थप पारिश्रमिक वृद्धि गर्न पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष हरिश बिष्टले नगर स्वयंसेवक शिक्षकका मागका विषयमा कार्यपालिकामा छलफल गरी सम्बोधनका लागि सकारात्मक पहल गर्ने बताउनुभयो ।
