सडक सुरक्षा : जीवन जोगाउने साझा जिम्मेवारी

सडक यातायात आधुनिक जीवनको अपरिहार्य आधार हो । गाउँदेखि सहरसम्म नागरिकको आवागमन, व्यापार, शिक्षा, स्वास्थ्य र रोजगारी सडकसँग जोडिएको छ । तर सडक सुरक्षित हुन नसक्दा यही जीवनरेखाले नागरिकको ज्यान लिने गरेको छ । दिनहुँ हुने सडक दुर्घटना, घाइते र मृत्युले सडक सुरक्षालाई गम्भीर राष्ट्रिय समस्याका रूपमा लिनुपर्ने अवस्था सिर्जना गरेको छ ।

सडक दुर्घटनाको कारण चालकको लापरबाही मात्र होइन । सडकको कमजोर अवस्था, बाढी–पहिरो, अव्यवस्थित जाम, सवारीसाधनको खराब अवस्था, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति, तीव्र गति, मादक पदार्थ सेवन, मोबाइल प्रयोग, ट्राफिक नियमको उल्लङ्घन तथा पैदलयात्रीको असावधानी पनि यसका प्रमुख कारण हुन् । आन्दोलन, प्रदर्शन वा अन्य कारणले सडक अवरुद्ध हुँदा एम्बुलेन्स, दमकल र अत्यावश्यक सेवासमेत प्रभावित हुने अवस्था अझ गम्भीर छ ।

कानुनको पालना र कार्यान्वयन

सडक सुरक्षाका लागि नेपालमा यातायात तथा ट्राफिक सम्बन्धी कानुनी व्यवस्था छन् । तर कानुन हुनु मात्र पर्याप्त हुँदैन, त्यसको निष्पक्ष र प्रभावकारी कार्यान्वयन पनि आवश्यक हुन्छ । क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, जथाभावी पार्किङ गर्ने वा ट्राफिक संकेत उल्लङ्घन गर्ने प्रवृत्तिमाथि प्रभावकारी निगरानी र कारबाही हुनुपर्छ ।

कानुन कमजोर भएर होइन, कार्यान्वयन कमजोर भएर पनि समस्या बल्झिने गरेको छ । पहुँच, दबाब वा प्रभावका आधारमा नियम उल्लङ्घनलाई छुट दिने संस्कार अन्त्य हुनुपर्छ । सडकमा सबै नागरिक कानुनका दृष्टिले समान छन् भन्ने अनुभूति व्यवहारमै देखिनुपर्छ ।

नागरिक कर्तव्य पनि उत्तिकै महत्वपूर्ण

सडक सुरक्षा सरकार वा ट्राफिक प्रहरीको मात्र जिम्मेवारी होइन । सडक प्रयोग गर्ने प्रत्येक नागरिकको कर्तव्य हो । पैदलयात्रीले जेब्रा क्रसिङ प्रयोग गर्नुपर्छ । व्यस्त सडकमा आकाशे पुलको प्रयोग गर्नुपर्छ । चालकले गति सीमाको पालना, लेन अनुशासन र ट्राफिक संकेतको सम्मान गर्नुपर्छ ।

मोटरसाइकल चालकले हेल्मेट तथा चारपाङ्ग्रे सवारीका यात्रुले सिटबेल्ट प्रयोग गर्नुपर्छ ।केही मिनेट बचाउने नाममा जथाभावी सडक काट्नु, ओभरटेक गर्नु वा तीव्र गतिमा सवारी चलाउनु बुद्धिमानी होइन । सुरक्षित रूपमा गन्तव्यमा पुग्नु नै यात्राको पहिलो सफलता हो । नागरिकमा ‘म मात्र होइन, अरूको जीवन पनि मेरो व्यवहारसँग जोडिएको छ’ भन्ने चेतना विकास हुनुपर्छ ।

सरकारको जवाफदेहिता

सडक दुर्घटनालाई केवल चालकको दोष देखाएर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन । सुरक्षित सडक निर्माण, नियमित मर्मत, जोखिमयुक्त सडक खण्डको पहिचान, सडक संकेत, सडकबत्ती, सुरक्षा बार, जेब्रा क्रसिङ, आकाशे पुल, फुटपाथ तथा आपत्कालीन उद्धारको व्यवस्था सरकारको दायित्व हो ।

बाढी र पहिरोको जोखिम भएका सडकमा पूर्वसूचना प्रणाली र तत्काल उद्धार तथा सडक खुलाउने संयन्त्र आवश्यक छ ।सवारीसाधनको नियमित प्राविधिक परीक्षणलाई प्रभावकारी बनाउनुपर्छ । सार्वजनिक यातायातको अवस्था र क्षमताको नियमित अनुगमन हुनुपर्छ । चालकको स्वास्थ्य, आराम र दक्षतामा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।

त्यसैगरी सडक अवरोध, आन्दोलन वा प्रदर्शनका समयमा एम्बुलेन्स, दमकल तथा अत्यावश्यक सेवाका सवारीलाई निर्वाध आवागमनको व्यवस्था गर्नु सरकारको अनिवार्य जिम्मेवारी हो ।

सडक सुरक्षा संस्कार बनाऔँ

सडक सुरक्षाका लागि कारबाहीसँगै चेतना आवश्यक छ । विद्यालय तहदेखि नै सडक सुरक्षा शिक्षा दिइनुपर्छ । बालबालिकालाई सडक पार गर्ने सही तरिका, जेब्रा क्रसिङको प्रयोग, ट्राफिक संकेत र आकाशे पुलको महत्वबारे व्यवहारिक शिक्षा दिनुपर्छ । सञ्चारमाध्यम, स्थानीय तह, विद्यालय, यातायात व्यवसायी र नागरिक समाजले निरन्तर जनचेतना फैलाउनुपर्छ ।
सडकमा मृत्यु भएपछि क्षतिपूर्ति दिनेभन्दा दुर्घटना हुनै नदिने नीति प्रभावकारी हुन्छ । दुर्घटनापछि उपचार र उद्धारभन्दा दुर्घटना रोकथाममा बढी लगानी आवश्यक छ ।

अन्ततः सडक सबैको साझा सम्पत्ति हो र यसको सुरक्षा पनि सबैको साझा दायित्व हो । सरकार जवाफदेही बन्नुपर्छ, सम्बन्धित निकायले कानुन कडाइका साथ कार्यान्वयन गर्नुपर्छ र नागरिकले आफ्नो कर्तव्य इमानदारीपूर्वक पालना गर्नुपर्छ ।

सडकमा हतार होइन, सुरक्षा रोजौँ । नियमलाई बाध्यता होइन, जीवन बचाउने संस्कार बनाऔँ । नागरिकको ज्यानभन्दा ठूलो कुनै गन्तव्य, कुनै व्यापारिक स्वार्थ वा कुनै राजनीतिक कार्यक्रम हुन सक्दैन । सुरक्षित सडक नै सभ्य समाज र जिम्मेवार राज्यको पहिचान हो ।
   देबेन्द्र दत्त भट्ट

Leave A Reply

Your email address will not be published.