काठमाण्डौ – आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा धेरै ठूलो वर्षा हुनसक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना कामयै छ ।
देशका हिमाली तथा पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै ठाउँमा तथा मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
राति कोशी प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । ठूलो वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न, पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न र सडक तथा यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।
विशेषगरी उच्च जोखिममा रहेका क्षेत्रका नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनामा ध्यान दिन महाशाखाको आग्रह छ ।