बैतडीमा बजार अनुगमन तीव्र

बैतडी– चाडपर्व नजिकिएसँगै बैतडीका विभिन्न स्थानमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव तथा महँगी नियन्त्रण गर्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भोजलाल थारुको नेतृत्वमा पाटन र शिवनाथमा बजार अनुगमन गरिएको हो । शुक्रबार पाटन बजारमा खाना पकाउने ग्यास बिक्री गर्ने डिलर सहित २६ वटा पसलमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थारुले जानकारी दिनुभयो ।

यस्तै, शनिबार शिवनाथ गाउँपालिकामा १२ वटा पसलमा छड्के अनुगमन गरिएको प्रशासनले जनाएको छ ।

अनुगमनका क्रममा बजारमा खाना पकाउने ग्यासको उपलब्धता तथा मूल्यका बारेमा जानकारी लिनुका साथै म्याद गुज्रेका तथा अखाद्य सामग्री फेला परेपछि नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।

बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारीसहित घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी र सम्बन्धित स्थानीय तहका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.