कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधा ओझाको निर्विरोध यात्रा, आगामी यात्राका लागी पार्टीसँग परामर्श गर्ने
महेन्द्रनगर-बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएकी छन् ।
नेपाली कांग्रेसको देउवा समूहबाट खुला महिला कोटातर्फ उम्मेदवारी दिएकी ओझा प्रतिस्पर्धाबिनै प्रतिनिधिमा चयन भएकी हुन् ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय ओझाले पार्टी संगठनका विभिन्न तहमा रहेर जिम्मेवारी सम्हाल्दै आएकी छन् । स्थानीय तहको जनप्रतिनिधिका रूपमा समेत काम गरिसकेकी उनीसँग राजनीतिक तथा सांगठनिक क्षेत्रको अनुभव छ ।
महाधिवेशन प्रतिनिधिमा चयन भएपछि प्रतिक्रिया दिँदै ओझाले आफ्नो आगामी राजनीतिक यात्रा र सांगठनिक भूमिकाबारे पार्टी नेतृत्व, नेता तथा सरोकारवालासँग छलफल गरेर मात्रै निर्णय लिने बताएकी छन् ।
पार्टीको नीति, नेतृत्व र सल्लाहलाई प्राथमिकतामा राख्दै आगामी कदम अघि बढाउने उनको भनाइ छ । आफूले अहिलेसम्म हासिल गरेको राजनीतिक तथा जनप्रतिनिधिका रूपमा प्राप्त अनुभवलाई आगामी दिनमा पार्टी संगठनको सुदृढीकरण र जनताको हितमा प्रयोग गर्ने उनले बताएकी छन् ।
ओझाको निर्विरोध चयनलाई कांग्रेसको संगठनभित्र उनको सक्रियता र राजनीतिक यात्रासँग जोडेर हेरिएको छ ।