बैतडी-बैतडीको मेलौली नगरपालिकास्थित बिठ्ठने खेलमैदानमा सञ्चालन भइरहेको ऐतिहासिक जिल्लास्तरीय अन्तरवडाकप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि भोलि प्रतिस्पर्धा हुने भएको छ।
कार्तिक १३ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको अन्तिम दिन पुरुषतर्फ सेमिफाइनल र फाइनल तथा महिलातर्फ फाइनल खेल सञ्चालन हुने खेल तालिका रहेको छ।
पुरुषतर्फ पहिलो सेमिफाइनलमा मेलौली नगरपालिका वडा नं. ५ र सिगास गाउँपालिका वडा नं ५ बीच प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइनलमा मेलौली नगरपालिका वडा नं. ९ र दशरथचन्द नगरपालिका वडा नं २ बीच खेल हुनेछ। दुवै सेमिफाइनलका विजेताबीच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, महिलातर्फ उपाधिका लागि शिवनाथ गाउँपालिका वडा नं. ६ र पुर्चौडी नगरपालिका वडा नं। १ बीच फाइनल खेल हुने बैतडीका रेफ्री सयोजक धिरज चन्दले जनकारी दिए ।
महिलातर्फ तृतीय स्थान मेलौली नगरपालिका वडा नं.७ ले हासिल गरिसकेको छ भने सान्त्वना स्थान पञ्चेश्वर गाउँपालिका वडा नं ४ ले प्राप्त गरेको छ।
प्रतियोगितामा पुरुषतर्फ २८ र महिलातर्फ १४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताले जिल्लामा भलिबल खेलको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा स्थानीय तहबीच खेलकुदका माध्यमबाट आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
भोलि हुने अन्तिम खेलसँगै प्रतियोगिताको समापन तथा विजेता टोलीहरूलाई पुरस्कार वितरण गरिने सयोजक चन्दले बताए ।
खेलकुद समिति अध्यक्ष भुपेन्द्र चन्दले प्रतियोगिताले जिल्लामा भलिबल खेलको विकास र स्थानीय खेलाडीको प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए।