सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य दासीको निधन, मंगलबार शोक बिदा

बैतडी-बैतडीको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य दासी ढोलीको निधन भएको छ ।

सुर्नया गाउँपालिका वडा नं १ हटैराज घर भएका ६५ बर्षीय ढोलीको उपचारको क्रममै मृत्यु भएको सुर्नया गाउँपालिका वडा नं १ का वडा अध्यक्ष धनबहादुर चन्दले बताए ।

सुर्नया गाउँपालिका–१ हटैराज निवासी ढोली लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । उनले लामो समयदेखि मिर्गौलाको नियमित डायलाइसिस गराउँदै आएका थिए । उपचारकै क्रममा उनको निधन भएको सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष चन्दले जानकारी दिए ।

ढोली २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँ कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए । दलित अधिकारका क्षेत्रमा लामो समयदेखि क्रियाशील उनी दलित अभियन्ताका रूपमा समेत परिचित थिए । सामाजिक सुधार र दलित समुदायको हकहितका लागि उनी सक्रिय रहँदै आएका थिए ।

उनको निधनले एक सामाजिक अभियन्ता गुमाउनुपरेको स्थानीयले बताएका छन् । मृतक ढोलीका श्रीमती र एक छोरा छन् ।

यसैबीच, कार्यपालिका सदस्य ढोलीको निधनमा सुर्नया गाउँपालिकाले मंगलबार शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरका अनुसार मंगलबार गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, शिक्षण संस्था तथा स्वास्थ्य संस्थामा शोक बिदा दिइनेछ ।

अध्यक्ष कुँवरले ढोलीको निधनले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.