निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्छु, गृहमन्त्री लामिछाने

मेलौली न्यूज 
पुस ११ सोमबार,२०७९ 

काठमाण्डौ-नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

आज सोमवार शपथ ग्रहणपछि पदभार सम्हाल्ने क्रममा गृहमन्त्री लामिछानेले पहिलो निर्णयका रूपमा निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताउनुभएको हो। कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन्। चार वर्षदेखि यस प्रकरणमा अनुसन्धान भइरहे पनि केही प्रगति हुन सकेको छैन।

उहाँले सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ गृह मन्त्रालय भएको बताउँदै आफूलाई यही मन्त्रालय रोजेको प्रतिक्रिया दिनुभयो । आफूले सञ्चारकर्मीका रूपमा काम गर्दा गृह मन्त्रालयको बारेमा सबैभन्दा धेरै गुनासो आउने गरेको उहाँले सुनाउनुभयो। आफूले स्वतन्त्ररूपमा कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो।

उपप्रधानमन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । स्वतन्त्र भएर त्यो विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.