अछाम -अछामको कमलबजार नगरपालिका वडा नः ५ ले विवाह गर्दा अनिवार्य वडाको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । समाजमा बढ्दो अवस्थामा रहेको बालविवाहलाई न्यूनिकरण गर्ने उद्देश्यले यो व्यवस्था गरिएको वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले जानकारी दिए ।
सोमबार एक सूचना जारी गर्दै वडा कार्यालयले विवाह गर्ने केटा र केटीले अनिवार्य रुपमा वडा कार्यालयमा जन्मदर्ताको प्रतिलिपि पेश गरी स्वीकृति लिई विवाह गर्नुपर्ने, २० वर्षभन्दा कम उमेरका केटारकेटीको विवाह गरिदिने आफन्त, परिवार, छरछिमेक, पुरोहितरब्राह्मण लाई नेपालको प्रचलित कानून बमोजिम कडा कारबाही गरिने जनाएको छ ।
यसका साथै विवाहको कार्ड छपाउँदा अनिवार्य रुपमा दुलाहरदुलहीको जन्ममिति उल्लेख गर्नुपर्ने, यदि विवाहको निमन्त्रणा कार्डमा जन्ममिति उल्लेख नभएको निमन्त्रणा पत्र अस्वीकार गर्न वडा कार्यालयले आग्रह गरेको छ ।
वडा कार्यालयले जारी गरेको निर्देशनलाई अटेर गरि बाल विवाह गरेरगराइएको पाइएमा वडा नः ५ को कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा तथा सुविधाहरू कटौती गरिने समेत वडा कार्यालयले जनाएको छ । नियमको अटेरी गर्ने स्थानीयलाई बाल पोषण भत्ता, विभिन्न किसिमका सिफारिस, सामाजिक सुरक्षा भत्ता, काठको पुर्जी रोक्का गरिनुका साथै सार्वजनिक कार्यक्रममा समेत प्रतिबन्ध लगाइने कार्यालयले जनाएको हो ।
फरक खबरसँग कुरा गर्नुहँदै वडा नः ५ का अध्यक्ष सत्यराज तिमिल्सैनाले वडामा बालविवाहलाई न्यूनिकरण गरि निकट भविष्यमा वडालाई नै बालमैत्री वडा घोषणाका लागी यो व्यवस्थाले सहयोग पुगाउने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय समाजमा बालविवाहले समाजमा जरा गाड्दै गएको भन्दै उहाँले यसको व्यापक प्रचारप्रसार गरि बालविवाह अन्त्य गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
