धनगढी- कञ्चनपुरमा बेवारिस अवस्थामा एक जनाको शव फेला परेको छ। आइतबार जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला नहर किनारमा बेवारिस अवस्थामा अन्दाजी ५५ वर्षीय गहु गोरो उचाई ५ दशमलव २ फिट भएको कालो पाईन्ट खैरो सर्ट कालो कलरको हाईनेक निलो कलरको आस्कोट टाउकोमा ढाका टोपी पातलो शरिर कपाल र दारी जुंगा फुलेको पुरष अचेत अवस्थामा फेला परेको हो।
तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। शवको पहिचान भएको छैन्। मृत्यु भएका पुरुषको शव सोही अस्पतालको शब गृहमा राखिएको छ। सुदूरपश्चिम प्रदेशमा पछिल्लो साढे तीन वर्षको अवधिमा फेला परेका ४६ शवको पहिचान नखुलेको पाइएको छ।
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६र७७ मा ११ ओटा, २०७७र७८ मा १९ ओटा, २०७८र७९ मा १२ ओटा र चालु आवको अहिलेसम्म चार गरी ४६ शवको पहिचान नखुलेको पाइएको हो। सबैभन्दा बढी कञ्चनपुरमा २३ ओटा बेवारिस शव फेला परेका छन्। त्यस्तै कैलालीमा ७, डडेल्धुरामा ५, बैतडी र दार्चुलामा ३र३, डोटी र बझाङमा २र२ र अछाममा १ ओटा मात्र बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।