बैतडीको पाटन–८ मा अचार गुन्द्रुक बनाउने तालिम सम्पन्न

बैतडी -बैतडीको पाटन नगरपालिका–८ मा अचार गुन्द्रुक बनाउने तालिम सम्पन्न भएको छ । जेठ २१ गतेदेखी महिलाहरूका लागि सञ्चालित सीपमुलक अचार गुन्द्रुक बनाउने तालिम शनिबार सम्पन्न भएको महिला तथा बालबालिका शाखा प्रमुख बिष्ना भण्डारीले जानकारी दिइन् । नगरपालिकाको वडा नम्बर ८, ९ र १० मा सञ्चालनमा रहेका महिला कृषि सहकारीमा आवद्ध ३० जना महिलाहरूलाई फापर, मुला, अदुवा, खुर्सानी लगायतको अचार राख्न सिकाइएको प्रमुख भण्डारीले बताइन्।

महिलाहरुलाई आयआर्जन संग जोड्न विभिन्न सीपमुलक तालिम सञ्चालन गर्दै आएको छ । तालिममा सहभागी मनिसा भट्टले व्यवस्थित तरिकाले अचार राख्न सिकेको जानकारी दिइन् । आफूहरूले आगामी दिनमा व्यवसायिक रुपमा अघि बढ्न चाहे पनि बजारको समस्या रहेको भन्दै नगरपालिकाले बजारीकरण गरिदिनुपर्ने बताइन् ।

सीपमुलक तालिम समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर उपप्रमुख कमल सिंह बोहराले तालिम सहभागी भएका महिलाहरूलाई व्यवसायिक रुपमा अचार उत्पादन गर्ने आग्रह गर्दै पालिका आवश्यक सहयोग गर्न तयार रहेका समेत बताए ।

यस्तै बिशिष्ट अतिथि पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले व्यवसायिक रुपमा अचार उत्पादनमा लाग्न चाहने महिलाहरूका लागि पालिका बजारीकरण र अन्य आवश्यक सहयोगका लागि सँधै तत्पर रहेको बताए ।

Leave A Reply

Your email address will not be published.