बजेट निर्माणमा ब्यस्त स्थानीय तह

बैतडी -बैतडीका स्थानीय तह आगामी आर्थिक वर्ष २०८०÷८१को नीति,बजेट तथा कार्यक्रम निर्माणमा जुटेका छन् । यहाँका स्थानीय तहहरु असार १० गतेभित्र बजेट ल्याउने गरेर तयारीमा जुटेका हुन् । बजेटको तयारीका लागिका लागि जिल्लाका सबै स्थानीय तहहरु टोल र बस्ती भेलाबाट योजना छनौट गरिरहेका छन् । यहाँका पालिकाहरुले सुझाव संकलनको काम पनि जारी राखेका छन् । पालिका र वडाका जनप्रतिनिधिहरु नीति,कार्यक्रम तथा बजेटका लागि गाउँ तथा टोलमा पुगेर छलफल गरिरहेका शिवनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“असार १० गतेभित्र नीति, कार्यक्रम र बजेट ल्याउने तयारी छ, त्यसका लागि अध्यक्षज्यूलगायत जनप्रतिनिधिहरु छलफल गरी योजना बनाउन जुट्नुभएको छ । ”

दोगडाकेदार गाउँपालिकामा असार ८ गते नीति तथा कार्यक्रम र १० गते बजेट सार्वजनिक गर्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताउनुभयो । उहाँले भन्नुभयो,“ ८ गते नीति,कार्यक्रम र १० गते बजेट ल्याउने तयारीका साथ छलफल चलिरहेको छ । असार ३ गतेसम्म बस्तीका योजना छनौट गर्ने र त्यसपछि कार्यपालिका बैठक बसेर नीति, कार्यक्रम र बजेटका लागि मिति तय गरछौं ।”असार १० गतेभित्र नगरसभाबाट बजेट ल्याउने गरी तयारी भइरहेको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“१० गतेभित्र बजेट ल्याउने गरि तयारी थालेका छौं,स्थानीय स्रोतसाधनलाई उपयोग गरेर शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड दिने गरि बजेट सार्वजनिक गरछौं । ”

स्थानीयको आवश्यकता र मागअनुसार नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो,“ टोल र बस्ती भेलाबाट आएका मागलाई प्राथमिकताका आधारमा आगामी वर्षको बजेटमा समावेश गर्ने र सबैक्षेत्रको विकासलाई पनि जोड दिन्छौं । ” डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले १० गतेभित्र ल्याउने गरी तयारी भएको र सोहि अनुसार छलफल अगाडी बढाइएको बताउनुभयो ।
स्थानीय तहहरुले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान रहेको छ । चार नगरपालिका र छ गाउँपालिका रहेको बैतडीका अन्य स्थानीय तहहरुले पनि असार १० भित्रै बजेट ल्याउने गरि तयारी थालेको जनाएको छ ।
नीति तथा कार्यक्रमका लागि सुझाव संकलन
बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक बर्ष २०८०÷८१ को नीति,बजेट तथा कार्यक्रमका लागि सुझाव संकलन गरिरहेका छन् । अगामी आर्थिक वर्षको नीति,बजेट तथा कार्यक्रम तर्जुमाका लागि विज्ञ,राजनीतिक दल,संघसंस्था,बुद्धिजीवी,सञ्चारकर्मी,समाजसेवी,पेसाकर्मी कर्मचारी र आम नागरिकहरूबाट राय सुझाव माग गरिएको पुर्चाैडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताउनुभयो ।

असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र त्यसैको तयारी स्वरुप सुझाव सल्लाह संकलनको कार्य भइरहेको हो ।सामाजिक विकास,आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने जनाएको छ । राय सुझावकै आधारमा अगामी वर्षको नीति,बजेट तथा कार्यक्रम ल्याइने स्थानीय तहहरूले जनाएका छ ।

Leave A Reply

Your email address will not be published.