बैतडीको सतबाँझमा १ लाख फलफूलका बिरुवा उत्पादन

बैतडी: सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीले व्यावसायिक फलफूल खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्ष उच्च गुणस्तरका रुटस्टक (मूल काण्ड) बिरुवा उत्पादनलाई व्यापक बनाएको छ। केन्द्रले आफ्नो बगैँचाको करिब १५ रोपनी क्षेत्रफलमा १ लाख गोटा स्थानीय तथा सहनशील प्रजातिका बीउहरू रोप्ने कार्य तीव्र रूपमा अघि बढाएको छ।

केन्द्रका अनुसार १५ रोपनी जग्गामा हाँडे ओखर, काठे आरु, कटुस र पैँयुका १ लाख बीउहरू रोपिँदै छ। स्थानीय हावापानी अनुकूल र रोगप्रतिरोधी यी काठे स्थानीय प्रजातिका बिरुवाहरू हुर्किएपछि तिनमा उन्नत जातका हाँगाहरू ’कलमी’ गरिनेछ।

हाँडे ओखरमा उन्नत जातको दाँते ओखर,काठे आरुमा उन्नत प्रजातिको स्वादिष्ट आरु, पैँयुमा स्विट चेरी र कटुसमाः उन्नत जातका कटुस कलमी गरेर उत्पादन गरिनेछ। यस प्रविधिले बिरुवालाई मजबुत बनाउनुका साथै छिटो र गुणस्तरीय फल दिन मद्दत पु¥याउँछ।

कुल २९ हेक्टर क्षेत्रफलमा फैलिएको यस फार्ममा विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू व्यवस्थित रूपमा हुर्काएर बिक्री–वितरण गरिँदै आएको छ। निमित्त कार्यालय प्रमुख अर्जुन खड्काका अनुसार हाल फार्मको आफ्नै बगैँचामा करिब १२ हजार फलफूलका बोटबिरुवाहरू रहेका छन्। साथै, आगामी मौसममा कृषकहरूलाई वितरण गर्नका लागि ६२ हजार थान उन्नत बेर्ना (बिरुवा) बिक्रीका लागि तयार अवस्थामा राखिएका छन्।

बैतडीको सतबाँझमा उत्पादित उच्च गुणस्तरका फलफूलका बिरुवाको माग देशका विभिन्न भागमा बढ्दो छ। तराईका कैलाली र कञ्चनपुरबाहेक सुदूरपश्चिमका सम्पूर्ण पहाडी जिल्लाहरू, कर्णाली प्रदेशका विभिन्न भागका साथै बागमती प्रदेशका काठमाडौँ र काभ्रेपलाञ्चोक जस्ता टाढा टाढाका जिल्लाहरूसम्म यहाँका बिरुवाहरू निर्यात हुने गरेका छन्।

सुक्खा र भिरालो जमिनमा पनि आधुनिक कृषि प्रविधिको प्रयोग गरी उच्च मूल्य जाने हिउँदे फलफूलको बेर्ना उत्पादन गरेर यस केन्द्रले सुदूरपश्चिमको कृषि पर्यटन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुर्यईरहेको छ।

Leave A Reply

Your email address will not be published.