लोकतन्त्रलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्छः केन्द्रीय सदस्य वड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर ओडले देशमा विकास र सम्बृद्धि कांग्रेस पार्टीले मात्रै गर्नसक्ने बताउनुभएको छ। नेपाली कांग्रेस बैतडीको आइतबार पाटनमा सम्पन्न पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले संविधानको रक्षा र प्रणालीको रक्षा गर्न कांग्रेस पार्टीले मात्रै सक्ने बताउनुभएको हो।

उहाँले भन्नुभयो,“ देश विकास र संविधानको रक्षाका लागि कांग्रेसले गर्छ,लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्छ।” सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एक ढिक्काका साथ नेपाली कांग्रेसको संगठन विस्तार अभियानमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको छ।

नेपाली कांग्रेस बैतडीको पहिलो जिल्ला सम्मेलन जिल्ला पार्टी सभापति चतुरबहादुर चन्दको अध्यक्षता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर ओडको प्रमुख आतिथ्यतामा पाटनमा सम्मेलन सम्पन्न भएको हो। वडा, पालिका र क्षेत्रीय सम्मेलन सम्पन्नपश्चात जिल्ला सम्मेलन गरिएको नेपाली कांग्रेस बैतडीले जनाएको छ।

सम्मेलनमा नेपाली कांग्रेसको वडा, पालिका र क्षेत्रीय सम्मेलनबाट प्राप्त सुझावका बिषयमा प्रतिवेदन प्रस्तुत गरी छलफल गरिएको छ । पार्टीको संगठन विस्तार, तल्लो तहसम्म पार्टीको वैचारिक बहस, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल गर्ने लगायतका बिषयमा छलफल भएको नेपाली कांग्रेस बैतडीका सभापति चतुबहादुर चन्दले जानकारी दिनुभयो। कांग्रेसको संगठनको अवस्था,पार्टीको संरचना,संगठन सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, संगठन बिस्तारका लागि अपनाउनुपर्ने रणनीति,पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा सम्मेलनमा छलफल भएको छ।
सम्मेलनले कांग्रेसलाई गतिशील बनाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

सम्मेलनमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थी, नेपाली कांग्रेस बैतडीका पूर्व सभापति एवं प्रदेश सभा क्षेत्र नं.२ का प्रदेश सभा सदस्य शिवराज भट्ट, जिल्ला प्रतिनिधि, पार्टीका पालिका प्रतिनिधि, क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.