शिवनाथ गाउँपालिकाले गर्‍यो श्रम स्वीकृति दिने कार्य शुरु

बैतडी-शिवनाथ गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ। यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाटै प्रदान गर्न सकिने भएपछि शिवनाथ गाउँपालिकाले श्रम स्वीकृती दिन थालेको हो।

सरकारले गएको चैत १६ गते वैशाख १ गतेदेखि लागू हुने गरेर स्थानीय तहहरुको रोजगार सेवा केन्द्रमार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा शिवनाथ गाउँपालिकाले आज पहिलो पटक मलेसिया जान इच्छुक शिवनाथ गाउँपालिका ४ का सुरेन्द्र सिंह महतालाई श्रम स्वीकृति प्रदान गरेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए उनलाई पालिकाको रोजगार सेवा केन्द्र मार्फत श्रम स्वीकृति प्रदान गरिएको हो।

महतालाई अध्यक्ष साउँदले श्रम स्वीकृति हस्तान्तरण गरेको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशव चन्दले बताए। दोश्रो पटक मलेसिया जाने तयारीमा रहेका महताले आफ्नै पालिकामा श्रम स्वीकृति पाएपछि खुसी लागेको बताएका छन्। गाउँपालिकामै श्रम स्वीकृति पाएपछि निकै सहजता भएको उनले बताए। बिना झण्झट कम खर्चमा घरदैलोको सरकारले श्रम स्वीकृति प्रदान गर्दा खुसी लागेको उनको भनाइ छ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादित बनाउन स्थानीय तहबाट श्रम स्वीकृति दिने कार्य महत्वपूर्ण रहेको गाउँपालिका अध्यक्ष साउँदले बताए। स्थानीय नागरिकहरुलाई पालिकाबाट प्रदान गर्ने सेवालाई सहज बनाउने कार्य अन्तर्गत श्रम स्वीकृति दिने कार्य शुरु भएको उँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए ।

Leave A Reply

Your email address will not be published.