मेलौली बस दुर्घटना: घाइतेको डडेल्धुरामा उपचार शुरु

बैतडी ।
बैतडीको मेलौलीमा भएको बस दुर्घटनाका घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार शुरु गरिएको छ ।

मेलौली नगरपालिका–७ को सुवाखानीमा भएको बस दुुर्घटनाका २६ जना गम्भीर घाइतेसहितका ४१ जनालाई नै डडेल्धुरा पठाएको थियो ।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले ३ एम्बुलेन्स र ९ जिपबाट थप उपचारका लागि डडेल्धुुरा अस्पताल पठाइएको बताउनुभयो ।

जसमध्ये २० जनाको उपचार शुरु भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक डीएपी मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

अस्पताल पुगेकामध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको छ । बाँकी २१ जना भने पुग्न बाँकी रहेको जनाइएको छ ।

पञ्चेश्वरबाट महेन्द्रनगर जादैं गरेको लु२ ख २०११ नम्बरको बस सोमबार दिउँसो १ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय उमेश भण्डारीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सडकबाट ४ सय मिटर तल खसेको बस रुखमा अड्किएको छ । ओरालो सडकमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.