महाकालीमा पानीको बहाव बढ्यो

महाकाली नदीमा पानीको बहाव बढेको छ। बैतडी, डडेल्धुरा र दार्चुला क्षेत्रमा बिहानैदेखि वर्षा हुँदा महाकाली नदीमा पानीको बहाव बढेको हो।

डडेल्धुराको परशुराम नगरपालिका-५ महाकाली नदी पारिगाउँ बाढीमापन केन्द्रमा मंगलबार मध्याह्न १२ बजेतिर पानी ५ मिटर ८० सेन्टिमिटर पुगेको जल तथा मौसम फिल्ड कार्यालय डडेल्धुराका प्रमुख श्याम सुनारले जानकारी दिए।

‘नदीमा पानीको बहाव बढेको छ। मैले यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको छु’‚ उनले भने, ‘आज दिनभर पानी पर्ने अनुमान छ। बैतडी र दार्चुलातिर पनि पानी परिरहेको छ। त्यसैले महाकाली नदीमा पानीको बहाव बढेको हो।’

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पनि सबैलाई सचेत रहन आग्रह गरेको छ। निरन्तर वर्षा भएसँगै महाकालीमा पानीको बहाव र सतह बढ्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको हो।

प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले पानीको बहाव बढेसँगै यहाँका पालिकाहरूमार्फत स्थानीयलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको बताए।

‘नदीमा पानीको बहाव बढेको खबर सुनेका छौँ। हामीले यहाँका स्थानीय तहलाई पनि खबर गरेका छौँ’‚ उनले भने, ‘तीन दिनसम्म पानी पर्ने भनिएको छ। त्यसैले सबैलाई सचेत भएर बस्न पनि आग्रह छ।’

Leave A Reply

Your email address will not be published.