मन्त्री नियुक्त हुनुभएकोमा गृहजिल्ला बैतडीमा दीपावली

सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य शिवराज भट्ट नियुक्त हुनु भएको छ। भट्ट मन्त्री नियुक्त हुनु भएको खुसीयालीमा उहाँको गृहजिल्ला बैतडीमा दीपावली गरिएको छ।

बुधवार बेलुका भट्टको घर दशरथचन्द नगरपालिका २ देहिमाडौंमा दीपावली गरिएको हो।

नेपाली कांग्रेस दशरथचन्द नगरपालिका २ वडा समितिले भट्ट मन्त्री नियुक्त हुनुभएको खुसीयालीमा दीप प्रज्वलन गरि उहाँको घरमै दीपावली गरिएको नेपाली कांग्रेस दरशथचन्द नगरपालिका २ का वडा सचिव रोशन बोहराले जानकारी दिनुभयो।

दीप प्रज्वलन कार्यक्रममा पार्टीका प्रदेश सभा क्षेत्रीय सचिव धनबहादुर क्षेत्री,जिल्ला सदस्य रमेश बोहरा, वडा सभापति सुरेन्द्र बोहरा, वडाध्यक्ष सुर्यबहादुर बोहरा, प्रदेशसभा क्षेत्रीय सदस्य तेजबहादुर बोहरा,दीपेन्द्र बहादुर बोहरा लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले बैतडीले सुदूरपश्चिम सरकारमा मन्त्री पाएकोमा खुसी व्यक्त गर्नुभयो।

नवनियुक्त कानुनमन्त्री भट्ट को हुन?
गएको मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा बैतडी प्रदेश सभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार भट्ट विजयी हुनुभएको थियो।

एमाले केन्द्रीय सदस्य समेत रहेका लिलाधर भट्टलाई पराजित गर्दै प्रदेश सभामा निर्वाचित भएका भट्ट सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त हुनुभएको हो। कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा परी निधन भएपछि सो मन्त्रालय रिक्त रहेको थियो ।

मन्त्रीमा नियुक्त भएका भट्ट नेपाली कांग्रेसभित्र सादगी नेताको रुपमा परिचित रहनुभएको छ। राजनीति शास्त्रमा स्नातोकोत्तर गरेका भट्टले कानुन बिषयमा स्नातक गर्नुभएको छ। २०१३ साल कार्तिक २३ गते बैतडीको देहीमाण्डौंमा जन्मेका भट्टले २०२७ सालदेखि राजनीतिमा प्रवेश गर्नुभएको हो।

नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका भट्टले २०३६ सालको पञ्चायत विरुद्धको आन्दोलन र त्यसपछि २०४६ सालको आन्दोलनमा समेत सहभागिता जनाउनुभयो।

नेपाली कांग्रेसको संगठन विस्तारमा अहोरात्र खटिएका भट्ट नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नजिक रहेका नेताको रुपमा चिनिनुहुन्छ। भट्ट २०५७ सालमा नेपाली कांग्रेस बैतडीको सभापति समेत बन्नुभयो।

२०६४ सालको संविधान सभाको निर्वाचनमा भने पार्टीले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेका बन्नुभएको थियो। २०७८ सालमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेस बैतडीको सभापतिमा पराजित भएका भट्ट प्रदेश सभा सदस्यमा भने निर्वाचित हुनुभयो ।

मन्त्रीमा नियुक्त भएका भट्टले जनताले दिएको मतको कदर हुने गरेर आफूले काम गर्ने बताउनुभयो।

Leave A Reply

Your email address will not be published.