बैतडी । गायक तथा संगीतकार तिलकसिंह पेलाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। मानसखण्डीय भाषा, संस्कृति झल्काउने ‘देउसरा आईगै’ बोलको गीत पेलाको आफ्नै युट्युब च्यानलमा बिहीबार सार्वजनिक भएको हो। गीतकार हेमन्त विवशले रचना गरेको गीतमा संगीत गायक पेलाकै रहेको छ।
गीतको भिडियोमा मानसखण्डीय भाषा, संस्कृति, परम्परा एवम् सभ्यतासम्बन्धी विभिन्न दृष्य हुड्केली, ठाडोखेल, छलिया नृत्य, होली, धामी कामेको आदि० समावेश गरेको देखिन्छ। मानसखण्डीय सभ्यताले हाल भारतको गढवाल, कुमाउँदेखि काली कर्णालीको उद्गम मानसरोवरसम्मको कला संस्कृति, परम्परालाई जनाउने पेलाले बताए
तिलकसिंह पेला पछिल्लो समयका चर्चित गजल÷गीत ‘के लत बस्यो’, ‘हेर दिन ढल्यो’ का गायक तथा संगीतकार हुन्।
२०६१ सालदेखि काठमाडौं वनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला खोलेर शास्त्रीय संगीत पढाइरहेका उनले तीन वर्षअघि आँसु एल्बमको तेस्रो भागका रूपमा ‘निर्जन किनार’ एल्बम ल्याएका थिए। त्यसअघि उनले डोटेली भाषाका गीतहरू समेत गाएका थिए।
बैतडीमा जन्मेका पेलाले आधुनिक गीतबाट करिअरको सुरुवात गरे पनि अहिले आफूलाई पूर्णतः शास्त्रीय संगीतमा समर्पित गरेका छन्। शास्त्रीय संगीतको उजागरमा उनी लागिपरेका छन्। उनको संगीत पाठशालाबाट अहिले शास्त्रीय संगीतमा लाग्ने स्रष्टाहरु समेत उत्पादन भइरहेका छन्।