अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले हमासको आक्रमणपछि इजराइलका लागि नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको बताउनुभएको छ । अमेरिका इजराइलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो । इजराइलले गरेको विशेष अतिरिक्त आग्रहलाई आफूहरुले हेरिरहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताएको सीएनएनले जनाएको छ । आक्रमणहरूको सामना गर्न यो क्षणमा इजराइललाई आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउँछौँ भन्ने सुनिश्चित गर्नु राष्ट्रपति जो बाइडेन को निर्देशन रहेको पनि उहाँले उल्लेख गर्नु भएको छ ।
अमेरिका इजरायलको पक्षमा छ । यसैबीच, इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूह हमास र इस्लामिक जिहादका नेताहरूसँग छुट्टाछुट्टै कुराकानी गर्नु भएको छ । उहाँहरुबीच टेलिफोनमा कुराकानी भएको तर थप विवरण सार्वजनिक नगरिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानले इजरायलमाथि आक्रमण गर्ने हमास समूहलाई समर्थन गरेको छ ।
इजरायलमा हमासको आक्रमणबाट सात सय भन्दा धेरै जनाको ज्यान गएको छ । यस्तै, प्यालेस्टाइनतर्फ चार सय भन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ । अस्ति शनिवार बिहान हमास विद्रोहीले इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि चलिरहेको छ । दुवै पक्षबाट क्षेप्यास्त्र प्रहार सहित स्थलमार्गबाट गोलावारी भइरहेको बीबीसीले जनाएको छ ।