नवदुर्गा गाउँपालिका:शिक्षकको तलब सिधै खातामा जम्मा

बैतडी- डडेल्धुराको नवदुर्गा गाउँपालिकाले शिक्षकको तलब सिधै व्यक्तिगत बैंक खातामा जम्मा गर्न सुरु गरेको छ । चालु आर्थिक बर्षको तीन महिनाको तलब सिधैँ बैँक खातामा जम्मा गरेको गाउँपालिको जनाएको छ ।

बिद्यालयको बैंक खातामा जम्मा गरेर अनी मात्र शिक्षकको खातामा जम्मा गर्दा लेखापरिक्षण लगायतका समस्या आउने देखिएपछि गाउँपालिकाले शिक्षककै खातामा तलब जम्मा गरेको नवदुर्गा गाउँपालिका प्रशासन शाखा प्रमुख नायव सुब्बा पुष्पराज जोशीले बताउनु भयो ।

तलव वितरणलाई पारदर्शी र जवाफदेही बनाउनका लागि ‘सूत्र’मार्फत शिक्षकलाई सिधै खातामा तलब हालिदिने व्यवस्था कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका नायव सुब्बा जोशीले बताउनुभयो ।

विद्यालयको खातामा जम्मा हुने रकम सम्बन्धित शिक्षकको खातामा जम्मा हुन थालेपछि प्रध्यानाध्यापकलाई तलब खुवाउने बोझ हटेको छ भने शिक्षकलाई सजिलो भएको छ। गाउँपालिकाको यो कदमले प्रध्यानाध्यापकहरुले पालिकाबाट शिक्षक तथा कर्मचारीको तलब तथा भत्ता निकासा गर्न, भरपाई तयार गरि बैंकमा पठाउन, संचयकोष, बिमा, सामाजिक सुरक्षा कर कट्टी गर्न र सो बापतको रकम बैंकमा जम्मा गर्नुपर्ने झन्झट हटेको बताएका छन् ।

अधिकांश शिक्षकले आफ्नै खातामा तलब जम्मा हुने भएपछि खुसि व्यक्त गरेका छन्। शिक्षकको तलब निकासा र व्यवस्थापनमा खर्चनुपर्ने समय प्रध्यानाध्यापकले शैक्षिक सुधारका क्षेत्रमा खर्च गर्न सक्ने वातावरण निर्माणको चरणमा रहेको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.