बैतडी-बैतडीको पाटन नगरपालिका १ सकारस्थित कालसैनी भगवती मन्दिरमा महाष्टमीका दिन लाग्नेको जात्राको अवसरमा पारेर खुल्ला देउडा प्रतियोगिता हुने भएको छ । कालसैनी भगवती मन्दिरमा रांगाको बलिसहित जात्रा हुने गरेको छ ।
महासप्तमीका दिनदेखि शुरु भएको जात्रा महाष्टमीमा राँगाको बलिसहित समापन हुने पाटन नगरपालिका – १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताउनुभयो ।
काल्सैनी जात्राको अवसरमा पारेर कार्तिक ४ र ५ गते खुल्ला देउडा प्रतियोगिताको आयोजना गरिएको उनले बताए । कार्तिक ४ गते दिउँसो दिउँसो ३ बजेदेखि देउडा प्रतियोगिता शुरु गरेर कार्तिक ५ गते बिहान समापन गर्ने योजना रहेको वडा अध्यक्ष ठगुन्नाले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजारसहित प्रमाणपत्र, दोश्रो हुनेलाई नगद ३ हजारसहित प्रमाणपत्र र तेश्रो हुनेलाई नगद २ हजारसहित प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
स्थानीय कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि जात्राको अवसरमा देउडा प्रतियोगिता राखिएको पाटन नगरपालिका १ नं वडा कार्यालयले जनाएको छ ।
यस्तै जात्रालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि गणेश भट्टराईको संयोजकत्वमा मेला व्यवस्थापन समिति समेत गठन गरिएको छ ।