क्यानका अध्यक्ष चन्दकाे गृहजिल्ला बैतडी दशैंमा क्रिकेटमय

बैतडी-नेपालीहरूकाे मुख्य चाड दशैंतिहारमा बैतडी जिल्ला क्रिकेटमय बनेकाे छ ।नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दकाे गृहजिल्ला समेत रहेकाे बैतडीमा दशैंतिहारकाे अवसर पारेर यहाँ चारवटा क्रिकेट प्रतियोगिता हुदैंछन्।
आजदेखि दाेस्राे संस्करणको बाशुलिङ्ग प्रिमियर लिग (बिपीएल ),कात्तिक १० गतेदेखि पाटन प्रिमियर लिग (पिपिएल) काे तेस्रो संस्करण ,कात्तिक १५ देखि दशरथचन्द नगरपालिकामा नगरस्तरीय क्रिकेट र मंसिरमा बिडिसिए कप क्रिकेट प्रतियोगिता आयाेजना गरिएको छ ।
बाशुलिङ्ग क्रिकेट क्लवको आयोजनामा हुने (बिपीएल ) सिजन टू का खेलहरू सिद्धखाली खेलमैदान सतबाँझमा भइरहेका छन् ।प्रतियोगितामा १४ टाेलीकाे सहभागीता रहेकाे नवराज ऐरीले जानकारी दिनुभयाे।
प्रथम हुने टिमलाई ३५ हजार र दाेस्राे हुने टाेलीले १८ हजार पुरूस्कार पाउनेछ।
यसका साथै पाटन क्रिकेट क्लबको आयोजनामा हुने पिपिएल–३ का खेलहरू श्रीकृष्ण मावी पाटनकाे खेलमैदानमा सञ्चालन हुनेछन् । प्रतियोगिताका लागि १८ टाेली दर्ता भएका छन् ।
विजेता टोलीले १ लाख ११ हजार १११ र द्वितीय पुरस्कार ५५ हजार ५५५ पाउने पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयाे।
बिगतका दुई वटै सिजन टेनिस बलले प्रतियोगिता गराइएकोमा याे वर्ष ड्युज बलले खेलाइने जनाएको छ।

यस्तै बैतडीमा दशरथचन्द नगरपालिकास्तरीय क्रिकेट प्रतियोगिता यही कार्तिक १५ गतेदेखि शुरु हुने भएको छ । नगर खेलकुद विकास समितिले एक सूचना जारी गर्दै कार्तिक १५ गतेदेखि कार्तिक २३ गतेसम्म नगरस्तरीय पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन हुने जनाएको हो ।
बुड्डाबाजे खेलमैदान रातामाटा हुने प्रतियोगितामा टीम सहभागिताका लागि प्रत्येक वडा कार्यालयहरुलाई आग्रह गरिएको छ । वडाको टीमको व्यवस्थापन वडा कार्यालयले गर्ने गरी प्रतियोगितामा टीम सहभागी गराउन आग्रह गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताउनुभयाे ।
दशरथचन्द नगरपालिकाको पूर्व निर्धारित खेलकुद कार्यक्रम अनुसार क्रिकेट प्रतियोगिताको आयोजना गर्ने तयारी भएको हाे ।
बैतडी जिल्ला क्रिकेट संघले मंसिर १६ गतेदेखि बिडिसिए कप क्रिकेट प्रतियोगिताकाे आयाेजना गरेकाे छ।
संघले जिल्लामा रहेका १३ ओटा क्रियाशील क्रिकेट क्लबहरुलाई समेट्दै बिडिसिए कप क्रिकेट प्रतियोगिता आयोजनाको तयारी गरेको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयाे।

जिल्लाको शहीद दशरथचन्द खेलमैदान सुन्दरखाली र पाटन खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा भाग लिने टीमहरुलाई कार्तिक मसान्तभित्र टीम दर्ता गराइसक्न आग्रह गरिएको छ ।

शहीद दशरथचन्द खेलमैदानमा नागार्जुन क्रिकेट क्लब, कालशैनी क्रिकेट क्लब, त्रिपुरा क्रिकेट क्लब, ग्वाल्लेक क्रिकेट क्लब, प्रतिष्ठान, एनआरवाईसी बठ्ठा र पंचकोटी क्रिकेट क्लबहरुबीच खेल हुने छ ।

त्यसैगरी पाटन खेलमैदानमा निङ्गलासैनी क्रिकेट क्लब, नवजागृति क्रिकेट क्लब, महामाया क्रिकेट क्लब, यौंगस्टार क्रिकेट क्लब, महारुद्र क्रिकेट क्लब र पाटन क्रिकेट क्लबकाबीच खेल हुने आयोजकले जनाइको छ ।
प्रतियोगिता सम्बन्धी कार्यविधि र सहभागिता शुल्कका बिषयमा अर्को सूचनामार्फत जानकारी दिइने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

आयाेजित प्रतियोगिताहरूले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बाेहराकाे विश्वास छ। नियमित रूपमा हुने प्रतियोगिताले खेलाडी क्षमता अभिबृद्धि र क्रिकेटकाे विकासमा टेवा पुग्ने बाेहराकाे भनाई छ।

Leave A Reply

Your email address will not be published.