बैतडी -जिल्लाको डिलाशैनी गाउँपालिकामा आज शोक बिदा दिइएको छ। गाउँपालिकाका निवर्तमान अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएकाले शोक बिदा दिइएको हो।
गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीद्वारा जारी गरिएको शोक वक्तव्यमा शुक्रबार पालिकाभरीका सबै वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्यसंस्थालगायत पालिका मातहतका सबै कार्यालयहरुमा शोक बिदा रहने उल्लेख गरिएको छ।
क्षयरोगबाट पीडित निवर्तमान अध्यक्ष बोहराको उपचारका क्रममा बिहीबार बिहान सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको थियो।
डिलाशैनी गाउँपालिका वडा नं ३ घर भएका ४५ वर्षीय बोहराको असोज २९ गते स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा हुँदै सेती प्रादेशिक अस्पताल लगिएको थियो।
उनी लामो समयदेखि क्षयरोगबाट पीडित थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका बोहरा शान्त स्वभावका नेताको रुपमा परिचित थिए।
शोक वक्तव्यमा बोहराले पुर्याएको योगदान सधैं जीवन्त रहने उल्लेख गरिएको छ। यस्तै समन्वयकारी भूमिका र समाज विकास तथा रुपान्तरणका लागि बोहराका सपना पूरा गर्नेसमेत शोक बक्तव्यमा उल्लेख गरिएको छ।