बैतडीको मेलौलीका ३ दाजुभाइ क्रिकेटमै भविष्य खोज्दै

बैतडी । बैतडीका ३ दाजुभाइ क्रिकेटमै भविष्य खोजिरहेका छन। मेलौली नगरपालिका-७ का जयाराम भट्ट, नरेन भट्ट र सचिन भट्ट क्रिकेटमै भविष्य खोजिरहेका हुन।

जयाराम भट्ट पछिल्लो डेढ दशकदेखि क्रिकेट खेल्दै आएका छन्। घरेलु तथा क्षेत्रीयस्तरको खेलहरुमा राम्रो पदर्शन गर्दै आएका भट्टको भूमिका यस वर्षको पिपिएल प्रतियोगितामा पनि रह्यो। मेलौलीका लागि राम्रो प्रदर्शन गर्ने खेलाडीमध्येमा उनि पनि पर्दछन्। फाइनल प्रवेशको खेलमा अन्तिम ओभरमा पंचकोटी क्रिकेट क्लबलाई जितका लागि ७ रनको आवश्यक रहेको अवस्थामा उनले कुनै पनि रन नदिएर उक्त ओभरमा एक रनआउटसहित ३ विकेट लिदै टिमलाई फाइनलको यात्रा तय गराएका थिए।

डेथ ओभरमा १।५ ओभर बलिङ गरेका उनले ३ विकेट लिदै विपक्षी टिम पंचकोटीलाई कुनै रन समेत दिएनन्। फाइनल खेलमा पनि सन्तोषजनक प्रदर्शन थियो। उनले तारिफयोज्ञ प्रदर्शन गरेका थुप्रै खेलहरु छन्। घरेलु लिगमा राम्रो प्रदर्शन गर्दै आएका जयराम आफ्ना पछाडीका दुई भाई नरेन र सचिनलाई पनि क्रिकेटर बनाउन लगातार मेहनत गरिरहेका छन्। जयराम भाईहरुलाई क्रिकेटर बनाउन पथपदर्शक रहेपनि दुबै भाईहरुले पनि अथक मेहनत गर्दै आएका छन्।

मेहनतकै फल भन्नुपर्छ जयरामका भाई नरेन भट्ट हालै सम्पन्न १६ वर्ष मुनिको एसीसी प्रमियर कपको फाइनलमा सतकीय पारी खेल्दै देशको नाम उच्च राखेका थिए। नेपाल विजेता समेत बनेको थियो। त्यसैले पनि धेरैले नरेनलाई चिन्दछन्। अवसर पाएमा राम्रो खेल्न सक्छन् भन्ने गतिलो उदाहरण दिएका नरेन १९ वर्ष उमेर समूहको तयारीमा जुटेका जयरामले बताए।

‘खेलमा नरेन अघि बढ्न चाहान्छ, यसका लागि परिवारबाट उपयुक्त वातावरण बनाएका छौँ, जस्तो खालको अभ्यास चाहिन्छ त्यो अभ्यास गराउन म तयार छु र ऊ पनि तयार छ, अहिले एकेडेमीमा लगातार प्रशिक्षणमा छ, अबको लक्ष १९ वर्ष उमेर समूह राष्ट्रिय टिममा पुग्ने हो,’ जयरामले भने, ‘देशभित्र वा बाहिर जुनसुकै ठाउँमा पनि आवश्यकता अनुसारको अभ्यास गराउन तयार छु,’। नरेनले पनि आवश्यकता अनुसारको अभ्यास गरिरहेको बताउछन् । पिपिएलमा पनि निकै सन्तोषजनक प्रदर्शन गरेका नरेन फेरी प्रशीक्षणमा फर्किने छन्।

यसैगरी जयरामका अर्का भाई सचिन पनि क्रिकेटमा राम्रो भविश्य बोकेका खेलाडीमध्येमा चिनिन्छन्। सुदूरपश्चिमको १६वर्ष उमेर समूहको १८ सदस्य टोलीमा परेका सचिन बलिङ अलरआउन्डरको रुपमा चिनिन्छन् । स्पिन बलिङ गर्ने सचिन पनि धनगढीमा एकेडेमी भर्ना भई लगातार प्रशिक्षण लिइरहेका छन्।

दुवै भाईलाई नेपाली टिममा स्थान बनाउनको लागि आवश्यक पर्ने जस्तोसुकै अभ्यासका लागि पनि पछि नपर्ने जयराम भट्ट बताउछन्। भट्टका २ बहिनी दुरा भट्ट र राधा भट्टले राष्ट्रियस्तरको भलिबल खेल समेत खेलिसकेका छन्। ७ दाजुबहिनी रहेका उनका अन्य दुई बहिनी पनि जिल्लास्तरमा भलिबल खेल्ने गरेका छन्।

Leave A Reply

Your email address will not be published.