बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दशरथचन्दको जन्मघरको अवलोकन गर्नुभएको छ। झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुभारम्भ गर्न बैतडी पुग्नुभएका अध्यक्ष ओली लगायतका नेताहरूले बिहीबार बिहान बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोटस्थित सहिद दशरथचन्दको जन्मघरमा अवलोकन गर्नुभएको हो।
ओली लगायतका नेताहरूले घरको बाहिर रहेको चन्दको सालिकमा माल्यार्पण गरी उहाँ प्रति सम्मान व्यक्त गर्नुभएको दशरथचन्द स्मृति प्रतिस्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो। त्यस्तै सो घरमा राखिएको आगन्तुक पुस्तिकामा पनि नेताहरूले हस्ताक्षर गर्नुभयो।
विगत लामो समयदेखि प्रतिष्ठानलाई राष्ट्रियस्तरबाट घोषणा गर्न पहल भएपनि सरकारी निकायबाट वेवास्ता गरेकाले अध्यक्ष ओलीलाई प्रतिष्ठान घोषणाका लागि ज्ञापन पत्र बुझाइएको अध्यक्ष चन्दले बताउनु। झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि ओली लगायतका नेहरुका सो घरमा पुग्नुभएका हुन्।
यसअघि आजै यहाँको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरको पनि अध्यक्ष ओलीले दर्शन गर्नुभएको थियो।
संकल्प यात्रा शुभारम्भपछि ओलीले आजै गोठलापानीमा आयोजना गरिएको आमसभाको ओलीले सम्बोधन गर्नुहुनेछ। त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासंगको भेटघाट रहेको जनाएको छ।