बैतडी । नेपाली कांग्रेस बैतडीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल तथा बैठक गरेको छ । पार्टीबाट निर्वाचित भएका जिल्ला समन्वय समितिका प्रमुख तथा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्षहरुसंग छलफल गरिएको नेपाली कांग्रेस बैतडीका उपसभापति बीरबहादुर बिष्टले बताए ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय गरेर कसरी अघि बढ्ने भन्ने बिषयमा बैठकमा छलफल भएको उनले बताए । यस्तै स्थानीय तहमा पार्टीबाट निर्वाचित प्रतिनिधिहरुले गरिरहेको कामका बिषयमा समेत समीक्षा भएको उपसभापति बिष्टले बताए। उनले भने ‘हामीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग बैठक र छलफल गरेका छौं। आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ भन्ने बिषयमा व्यापक छलफल भएको छ।’
पार्टीबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिहरुलाई जनतालाई केन्द्र बिन्दुमा राखेर कसरी काम गर्न सकिन्छ र अहिले सम्मको अभ्यासका बिषयमा बैठकमा छलफल भएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए।
यस्तै पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी, प्रदेश क्षेत्रीय कार्यसमितिका सभापति, पालिका सभापति र जनप्रतिनिधिहरुबीच पनि संयुक्त बैठक गरिएको उपसभापति बिष्टले बताए।
बैठकले पुस मसान्तभित्र पार्टीको क्रियाशील सदस्यता नवीकरण गरिसक्ने र माघ मसान्तभित्र नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको छ। यस्तै प्रत्येक पालिकामा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत भएको उपसभापति बिष्टले बताए।
कांग्रेस बैतडीको जिल्ला कार्यसमितिको बैठक भोलि बस्ने तय भएको उनले बताए।