बिडिसिए कपः कालाशैनीको सान्त्वना जित

बैतडी । बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा कालाशैनी क्रिकेट क्लबले सान्त्वना जित निकालेको छ। सान्त्वना जित निकाल्ने क्रममा कालाशैनीले महामाया क्रिकेट क्लबलाई ४ विकेटले हरायो।

महामायाले दिएको १९९ रनको लक्ष्य कालाशैनीले २८।४ ओभरमा ६ विकेट गुमाउदै पूरा गर्यो। जसमा म्यान अफ द म्याच भएका विक्रम सिंह कार्कीले अर्धसतकीय पारी खेल्दै ५७ रनको योगदान गरे। महामायाका दिनेश रावत र नरेश नाथले २र२ विकेट लिए।

त्यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको महामाया ३५।५ ओभरमा १९८ रनमा समेटियो। उसका भुवन महरले ५३ रन बनाए। कालाशैनीका मदन चन्दले ३ विकेट झारे। समूह बी मा रहेका यी दुबै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्। यो समूहबाट निङलाशैनी क्रिकेट क्लब सेमिफाइनल पुगिसकेको छ।

यस्तै समूह ए बाट एनआरवाइसी बठ्ठा पनि अन्तिम चारमा सुरक्षित भइसकेको छ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ। प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिनुभयो।

यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताउनुभयो।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यसअघि १९ औं संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो।

Leave A Reply

Your email address will not be published.